Logo

पैसाको जतन गर्ने बानी बसाल्नुस्, नत्र यस्तो फन्दामा पर्नुहुनेछ



साउन २४, काठमाण्डौ । कागजी नोटलाई हिफाजतका साथ प्रयोग गर्न सकेनौं भने त्यसको आयु घट्छ । नोटलाई जथाभावी प्रयोग गर्दा च्यातिने, मैलो हुने, नोटको अक्षर, चिह्न, चित्र, नम्बर आदि नचिनिने भई झुत्रो हुने गर्छ । अब नोट नेपाली र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले प्रक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने भएको छ ।

मिहिनेत गरेर कमाएको पैसाको जतन गर्नुपर्छ भन्ने कुरा सिकाइरहनु नपर्ने हो । तर जानेरै पनि कतिपयले पैसा वा कागजी नोट जतन गर्दैनन् । नोटलाई जथाभावी प्रयोग गर्दा च्यातिने, मैलो हुने, नोटको अक्षर, चिह्न, चित्र, नम्बर आदि नचिनिने भई झुत्रो हुने गर्छ । नोटमा लेख्ने, केरमेट गर्ने, जथाभावी दोबार्ने, नोटको प्याकेटमा स्टिच लगाउने गर्नाले पनि नोट फोहोर हुने र च्यातिने सम्भावना हुन्छ ।

नोटमा केरमेट नगर्ने र जथाभावी च्यात्ने कार्य नगर्ने र नगराउने व्यवस्था मिलाउनुपर्नेमा राष्ट्र बैंकले जोड दिएको छ । नोट सभ्यताको प्रतीक पनि हो । नोटले विश्वमा राष्ट्रको पहिचान कायम गर्न मद्दत गरेको हुन्छ । नेपाली नोट नेपालको पहिचान पनि भएको हुँदा सबैले सुरक्षित साथ सफा नोट प्रयोग गर्नेतर्फ अग्रसर हुनुपर्छ । राष्ट्र बैंकले च्यातिएको, मेटिएको वा झुत्रिएको नोट पुनः निष्कासन गर्दैन ।

सभ्य नागरिकले नोटलाई झुत्रोमैलो बनाई, च्याती यसको आयु घटाई राष्ट्रलाई आर्थिक व्यय भार पुर्याउने कार्य गर्नु उचित हुँदैन । कोही मानिसमा नोट वा मुद्रामा जथाभावी केरमेट गर्ने बानी हुन्छ तर अब यसो गर्न पाइदैन । किनकी अब नोट नेपाली र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै प्रक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । हालै पारित ‘मुलुकी अपराध (संहिता) ऐन २०७४’ अनुसार यस्तो व्यवस्था गरिएको हो ।

उक्त ऐनको दफा २६३ मा भनिएको छ, ‘बैंक नोटमा लेख्न वा कोर्न हुँदैन । त्यसो गरेको भेटिए कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’ यो ऐन आउँदो भदौ १ देखि लागू हुँदै छ । नोट फोहोर वा केरमेट गरेकै कारणले कैद वा जरिवाना हुने भएको यो पहिलो पटक हो । यसअघि जाली नोट कसुरमा मात्र जेल चलान हुने व्यवस्था थियो । राष्ट्र बैंकले नयाँ व्यवस्थाअनुसार नोट केरमेट नगर्नरनगराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । कानुनले नोट फोहोर गर्ने कार्यलाई फौजदारी कसुर मानेकाले कानुन पालना गराउने निकायले सोहीअनुसार कारबाही र जरिवाना गर्ने छ ।

नक्कली नोट वा सिक्का (खोटा) बनाएको पाइए १० वर्षसम्म कैद र लाख रुपैयाँसम्म जरिवाना हुनेछ । झुत्रा नोट दुरुपयोग गर्नेले पनि कारोबाही भोग्नुपर्नेछ । त्यस्ता नोट कानुनबमोजिम नष्ट नगरी कुनै लाभ पाउने बदनियतले प्रयोगमा ल्याएको भेटिए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । पैसाको आयु बढायो, त्यसलाई जतन गरेर चलायो भने त्यही पैसाले धेरै समय सम्म काम दिन सक्छ । यसले गर्दा देशले समय समयमा पैसा छापी रहनु पर्दैन र देशलाई अनावश्यक आर्थिक बोझ पर्दैन ।



प्रतिक्रिया दिनुहोस्