Logo

धार्मिक स्वतन्त्रताको माग गर्दै क्रिष्टियन समुदायले भन्यो–बामदेव गौतमले क्रिष्टियनको अपमान गरे



काठमाडौं, २५ साउन । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सीबी गहतराजले भदौदेखि लागु गर्ने भनिएको फौजदारी विधेयकलाई प्रतिशोधको हिसाबले र कुनै समुदायलाई नियन्त्रण गर्न बनाइएकाले तत्काल खारेज गर्न माग गरेका छन् । राजधानीमा बिहीबार गरिएको पत्रकार सम्मेलनमा गहतराजले इच्छित धर्म मान्न पाउनु पर्ने अधिकारलाई कसैले हनन गर्न नपाइने भन्दै सरकारलाई गैरन्यायिक विधेयक फिर्ता लिन आग्रह गरेका हुन् ।

उनले ख्रीष्टियन समुदायले २०७२ सालको गोरखा भूकम्पमा सहयोग गर्न खोज्दा बाइबल बाँडेको भन्ने आरोप लगाएर तत्कालीन गृहमन्त्री बामदेव गौतमले क्रिष्टियन समुदायको अपमान गरेको आरोपसमेत लगाए ।

आफूहरु सरकारसंग मिलेर जान तयार रहेको भन्दै ‘आफ्ना साथीहरुको सुरक्षा गरियोस्’ भनी माग पनि गरे । अध्यक्ष गहतराजले सुरक्षा र धार्मिक स्वतन्त्रताका लागि जोडदार माग गरेका हुन् । मृत्यु संस्कारबारे अन्तर्राष्ट्रिय कानुन सम्झाउँदै उहाँले सरकारले अस्थायी र स्थायी समाधी बनाइदिनुपर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलको पत्रकार सम्मेलनमार्फत ध्यानाकर्षण गराए ।

आफूहरु कहिल्यै राज्यविरुद्ध नजाने स्पष्ट पार्दै अध्यक्ष गहतराजले आफूहरुका माग न्यूनतम मानवअधिकारभित्र पर्ने भएकाले पूरा गरियोस् भन्दै धार्मिक स्वतन्त्रताको पक्षमा लाग्न सबैलाई आग्रहसमेत गरेका छन् ।

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको प्रेस विज्ञप्ति :

मितिः २०७५ साउन २४ गते
प्रेस विज्ञप्ति
उपरोक्त सम्बन्धमा गत जुलाई २४—२६ तारिख, २०१८ सम्म संयुक्त राज्य अमेरिकामा भएको धार्मिक स्वतन्त्रता र अल्पसंख्यक धार्मिक समुदायहरूको हितमा आवाज उठाउनका लागि भएको अन्तराष्ट्रिय सम्मेलनका बारेमा जानकारी गराउँन चाहन्छु । संयुक्त राज्य अमेरिकी सरकारको धार्मिक स्वतन्त्रता सम्बन्धी मन्त्रीस्तरीय वासिङ्टन डि.सी. स्टेट डिपाटमेन्टस्थित आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि अमेरिकी उपराष्ट्रपति माइकल आर. पेन्स हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताका मुख्य राजदूत श्याम ब्राउनव्याक, संयुक्त राज्य अमेरिकाका सचिव माइकल रिचर्ड पोम्पेउ, उपसचिव जोन सुलिभान लगायत विभिन्न देशका सरकारका प्रतिनिधिहरू, मानव अधिकार आयोगका प्रतिनिधिहरू र धार्मिक समुदायका प्रतिनिधिहरूको पनि सहभागिता थियो । नेपालका तर्फबाट अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की र राष्ट्रिय मानव अधिकार आयोग नेपालका प्रवक्ता मोहना अन्सारी र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि. गहतराज सहभागी हुनुहुन्थ्यो । सो सभामा चीन, उत्तर कोरिया, इटाली, पाकिस्तानलगायतका देशमा धार्मिक उत्पिडनमा परेका पिडितहरूको उपस्थिति र उनीहरूले राखेका विषयमा पनि छलफल भएको थियो । सो सम्मेलनमा अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता र अल्पसंख्यक धार्मिक समुदायहरूको पक्षमा उठेका विषयबस्तुमाथि घनिभूत छलफल भएको थियो । त्यस कार्यक्रममा छलफल भएका विषयहरू यस प्रकारका छन् ।
१. अन्तराष्ट्रिय धार्मिक स्वतन्त्रता र अल्पसंख्यक धार्मिक समुदायहरूको रक्षा गर्न अन्तर्राष्ट्रिय समुदाय र सम्पूर्ण देशका सरकारहरूले मिलेर आवश्यक कार्य गर्ने ।
२. आगामी दिनहरूमा अन्तर्राष्ट्रिय लिडरहरूको अझ धेरैको सहभागितामा धार्मिक स्वतन्त्रताको लागि आवश्यक योजना र कार्यक्रमहरूको आयोजना गर्ने ।
३. संयुक्त राष्ट्रसंघको नेतृत्वमा विश्वमा रहेका अल्पसंख्यक धार्मिक समुदायको रक्षाका लागि एक भई अघि बढ्ने र अल्पसंख्यक धार्मिक समुदायमाथि धार्मिक विभेद हुन नदिने र त्यसका विरुद्धमा एक भई लड्नका लागि संयुक्त प्रतिवद्धता जनाउने ।
माथिका उल्लेखित विषयबस्तुलाई राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल प्रतिवद्धता व्यक्त गर्दै हार्दिक स्वागत गर्दछ । नेपालमा रहेका ख्रीष्टियन समुदाय लगायतका अल्पसंख्यक धार्मिक समुदायको धार्मिक स्वतन्त्रताको रक्षा गर्न र अल्पसंख्यक धार्मिक समुदायको हक र अधिकारको ग्यारेन्टी गर्न नेपाल सरकारसँग महासंघ हार्दिक अपिल गर्दै ध्यानाकर्षण समेत गराउन चाहन्छौं । यसका साथसाथै संयुक्त राष्ट्रसंघको महासन्धीमा रहेको धार्मिक स्वतन्त्रतामा थप प्रतिवद्धता गर्न र नेपालमा रहेका अल्पसंख्यक धार्मिक समुदाय र ख्रीष्टियन समुदायको विशेष सुरक्षा र धार्मिक स्वतन्त्रताको लागि अमेरिकी सरकारका विभिन्न प्रतिनिधिहरूसँग भेटघाट तथा छलफल समेत भएको थियो । साथै ध्यानाकर्षण गराउनका लागि पत्र समेत प्रदान गरिएको थियो । यी भेटघाटहरूले निश्चय नै नेपालमा धार्मिक स्वतन्त्रता र अल्पसंख्यक धार्मिक समुदायको रक्षाका लागि भूमिका खेल्ने नै छ ।
नेपाल सरकार र महासंघबिच भएको ३ बुँदे र ६ बुँदे सहमति यथासिघ्र कार्यान्वयन गर्दै समाधि स्थल लगायत राष्ट्रिय सरोकारका विषयहरू कार्यान्वयन गर्न नेपाल सरकारसँग राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल जोडदार माग गर्दछ । साथै सदाचार नीतिमार्फत वर्तमान सरकारले धार्मिक संस्था र मुलुकको विकासमा साझेदार गरिरहेको गैर सरकारी संस्थालाई पनि सुशासनका नाममा नियन्त्रण गर्न खोजेको सर्व्विदितै छ । यसमा ख्रीष्टियन महासंघलगायत संस्थाको गम्भिर ध्यानाकर्षण भएको छ । साथै आगामी भदौबाट लागु हुने देवानी र फौजदारी संहिता कानुनका केही प्रावधानले धार्मिक अधिकार संकुचन हुन सक्ने तर्फ पनि हामी सतर्क छौ । तसर्थ हामी यस्ता नियमनमुखी क्रियाकलापबाट सरकारलाई सचेत गराउँदै नेपालको संविधान र अन्तर्रा्ष्ट्रिय महासन्धीका कानुन बमोजिम सबैलाई समान व्यवहार गर्न आग्रह गर्दछौं । अन्यथा ख्रीष्टियन महासंघ नेपाल आफ्नो समान धार्मिक अधिकारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ध्यानाकर्षणका कार्यक्रमहरू सञ्चालन गर्न बाध्य हुनेछौं ।
अन्तमा यस्तो अमुल्य मौका प्रदान गर्नुहुने सृष्टिकर्ता परमेश्वर, निमन्त्रणा गर्नुहुने अमेरिकी सरकार, प्रार्थनामा याद गरिदिनु हुने सम्पूर्ण मण्डली, पत्रकार लगायत सम्बन्धित सबै पक्षलाई राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

अध्यक्ष, सि.बि. गहतराज ९८५१०१६५५२



प्रतिक्रिया दिनुहोस्