Logo

अबको एक वर्षभित्र परिवर्तन गर्न सकिनँ भने म राजिनामा दिन्छु : रघुवीर महासेठ



-रघुवीर महासेठ, मन्त्री भौतिक पूर्वाधार तथा यातायात

तपाई सडकको स्थलगत अनुगमनमा जानुभयो । कास्तो पाउनुभयो ?
हामीले सरकार गठन गर्दा जुन स्थिती थियो, त्यो भन्दा अलिकति फरक पाएँ ।

अझै पनि काठमाण्डौ उपत्यकाका सडक अस्तव्यस्त छ, तपाईको अनुगमनले अब के हुन्छ ?
भदौ १२ गतेसम्ममा काठमाण्डौको चक्रपथभित्रका सडकका खाल्डा पुर्ने भनेर हामीले जुन निर्देशन दिएका छौँ त्यसले अब नतिजा देखिन्छ । सडकलाई खाल्डाखुल्डीमुक्त बनाउने हाम्रो योजना बनाएका छौँ ।

कुनकुन सडकखण्डलाई प्राथमिकतामा राख्नुभएको छ ?
कलङ्की–नागढुङ्गा, जोरपार्टी र साखुँ क्षेत्रको सडक भदौ १२ भित्र निर्माण सम्पन्न हुन्छ । विगतमा विभिन्न कारणले काम हुन सकेको थिएन, अहिले तीब्र रुपमा काम भइरहेको छ ।

तर काम हुनै सकेको छैन मन्त्रीज्यू, तपाईले दिएको निर्देशन पनि पालना भएको पाइदैन ।
तपाई जानुभएको छ सडकमा ? कहाँ जानुभएको छ ?

म गएको छु मन्त्रीज्यू, काठमाण्डौ महानगरपालिकाको ३१ वटै वडाका सडक कस्ता छन्, तपाईलाई थाहा छैन ?
तपाई भ्रममा हुनुहुन्छ । काठमाण्डौभित्रको सडक हामीले बनाउने होइन । सडक विभाग अन्तरगत पर्दैन । काठमाण्डौका गल्ली र साना सडकहरु महानगरपालिकाले बनाउने हो । मैले होइन ।

भनेपछि काठमाण्डौ महानगरभित्रका सडक अझै पनि खेत रोप्न लायक नै रहिरहने भएन होइन ?
खेत रोप्न लायक अवस्था पहिला पनि थिएन, अहिले पनि छैन । प्रतिपक्षले जबरजस्ती धान रोपेको देखाएर हुँदैन ।

कतिपय ठाउँमा स्थानीयबासीले सडकमै धान रोपेको थाहा छैन तपाईलाई ? कि विर्सिनुभयो ?
कतिपय ठाउँमा आकाशबाट पानी पर्दा निकासको व्यवस्था नभएकाले समस्या देखिएको हो । ति सबै ठाउँमा भदौ १२ गतेभित्रमा समस्या समाधान हुन्छ । खाल्डा खुल्डी पनि भेटिनेछैन, जति पानी परे पनि ताल पर्ने छैन ।

अब धान रोप्ने स्थिती आउँदैन ? ढुक्क भए हुन्छ ?
अनि यो धान रोप्ने वातावरण हिजोको सरकारले बनाएको हो कि हामीले बनाएको हो ?

हिजोको सरकारले गल्तीगरेको थियो होला, अब अहिले पनि त्यस्तै गरिरहने ? दुई तिहाई बहुमतको सरकारका मन्त्रीले यस्तो भन्न मिल्छ ?
त्यो दुई तिहाई मतले चार–पाँच महिनामा नै सबै काम गर्न सक्छ त ? यो पाँच महिनामा केही अनुभूति त पाउनुभएको होला नि ?

  • सर्वोच्च अदालतको आदेशलाई शतपतिशत मानेर जाने हो भने यो देशमा विकास सम्भव छैन ।
  • काठमाण्डौभित्रको सडक हामीले बनाउने होइन ।
  • हामीले सडक विगारेको हो कि विगतकै सरकारले विगारेको ?
  • सडकमा खेत रोप्न लायक अवस्था पहिला पनि थिएन, अहिले पनि छैन ।
  • सडकमा रोपाई गर्ने जनता होइनन्, प्रतिपक्ष हो ।
  • यो आर्थिक मसान्तभित्रमा काठमाण्डौमा ट्राफिक जामसमेत हुँदैन ।

काठमाण्डौका सडक बनाउने दायित्व सरकारको होइन ?
सरकारकै दायित्वभित्र पर्छ, यो कुरा हामीले नबुझेको होइन । तर अहिले सडक विभागले करिब १२ हजार किलोमिटर सडक बनाउँदैछ । देश संघीयतामा गइसकेपछि कुन सडक कुन निकायले बनाउने भनेर तोकिएको छ ।

अरु निकायलाई तपाईहरुले निर्देशन दिन सक्नुहुन्न ? काठमाण्डौका मेयर विद्यासुन्दर शाक्यलाई सुझाब दिन मिल्दैन ?
हामीले भनिरहेका छौँ ।

तर तपाईको पनि दायित्व होला नि ?
हामीले सडक विगारेको हो कि विगतकै सरकारले विगारेको ? पूर्व सरकारको नीति र योजनाको कमीले गर्दा जति अस्तव्यस्त भएको थियो, त्यो सबै दायित्व हामीले लिएर आएका छौँ । भदौ १२ गतेभित्र सडक विभागले जिम्मा लिएका सबै सडकमा खाल्डाखुल्डी रहँदैनन् ।

यदी खाल्डाखुल्डी देखियो भन के गर्नुहुन्छ ? राजिनामा दिनुहुन्छ ?
जनताले हामीलाई विश्वास गरेका छन्, कम्तिमा एक वर्ष त हेर्नुपर्यो नि । हामीले जनचाहनाअनुसार काम गरेनौँ भने जनताले हामीलाई छुट दिन्छ र ?

तपाई सडक विभाग अन्तरगतका सडकको मात्रै जिम्मा लिने, अरु सडक कसैले नबनाउने, यो कस्तो प्रवृत्ति हो ?
हामीले काठमाण्डौ महानगरपालिकासँग पनि समन्वय गरिरहेका छौँ । कतिपय सडकका बारेमा सर्वोच्च अदालतले काम रोकिदिएको छ । सम्मानित अदालतको आदेशलाई पनि मान्नुपर्ने हुन्छ । अहिले जुन प्रकारले अदालतले आदेश दिने गरेको छ, त्यसलाई शतपतिशत मानेर जाने हो भने यो देशमा विकास सम्भव छैन ।

यो सरकारबाट जनताले के अपेक्षा गर्ने ?
चालु आर्थिक वर्षभरीमा जनताले अनुभूति गर्न पाउने गरी काम हुन्छन् । हामीले धेरै योजना बनाइसकेका छौँ । यो आर्थिक मसान्तभित्रमा काठमाण्डौमा ट्राफिक जामसमेत हुँदैन । अबको एक वर्षभित्र परिवर्तन गर्न सकिनँ भने म राजिनामा दिन्छु । एक वर्षभित्रमा हामीले जुन व्यवस्थापन गर्न गइरहेका छौँ, त्यो अनुसार काम भयो भने जनता खुशी हुन्छन् ।

केके योजना छन् त तपाईसँग ?
कोटेश्वरमा अण्डरग्राउण्ड बाइपास बनाउँदैछौँ । नागढुङ्गामा पनि नयाँ संरचना बनाउँदैछौँ । चावाहिल चोकमा जाम नहुने गरी योजना बनाइरहेका छौँ । तर समस्या पनि छ । हामी चारलेनको सडक बनाउन खोजिरहेका छौँ, अदालतबाट स्टे अर्डर आउँछ । अदालतको आदेश मान्नै पर्यो । तर अदालतको आदेश विकासको बाधक बनेको छ । विगतका सरकारका नीतिहरु पनि बाधक बनेका छन् ।

तपाईले विगतका सरकारलाई दोष दिइरहनुभएको छ । तपाईलाई थाहा होला, मनमोहन अधिकारी, माधव नेपाल, झलनाथ खनाल, केपी ओली पनि विगतमा प्रधानमन्त्री भएकै हुन् । बाबुराम भट्टराई र प्रचण्ड पनि प्रधानमन्त्री भएकै हुन् ? दोष कसको त ?
कर्मचारीतन्त्रले सरकारको निर्देशन मान्दैनथे । अस्थायी सरकार भएकाले कर्मचारीले नटेर्ने प्रवृत्ति थियो । यस्तो प्रवृत्तिको अब अन्त्य हुन्छ । ५ वर्षको लागि बनेको स्थायी सरकारले जनताको इच्छाअनुसार काम गर्छ । केपी ओलीले देखाउको सपना पूरा गर्नका लागि बनेको अहिलेको सरकारले काम गरेरै छोड्छ ।

सम्बन्धित समाचार : 

मन्त्री महासेठ सडकको खाल्डोमा, हेर्ने मात्रै कि पुर्ने पनि (भिडियोसहित)

मन्त्री महासेठसँग प्रधानमन्त्री ओली असन्तुष्ट, हटाउनेबारे नेकपाभित्र छलफल

प्रधानमन्त्री ओलीको सचिवालयले भन्यो-लालबाबु र रघुवीर असफल, कोको भए सफल ?

प्रधानमन्त्री ओलीको सचिवालयले भन्यो-लालबाबु र रघुवीर असफल, कोको भए सफल ?

मन्त्रीहरुले आफूमात्रै हिरो बन्ने काम गरेको भन्दै ओली रुष्ट

सरकारको सय दिन : प्रधानमन्त्री केही मन्त्रीसँग रुष्ट

क्याविनेटमा रघुवीरले बादलमाथि औंला ठड्याएपछि

सिन्डिकेटधारी यातायात समितिको सम्पत्ति अव राष्ट्रियकरण

यातायात व्यवसायीको सबै सम्पत्ति राष्ट्रिकरण गर्छु, सिन्डिकेट हटेन भने राजिनामा दिन्छु(भिडियोसहित)

‘सिण्डिकेट फिर्ता हुँदैन, गलत गर्नेलाई कारबाही गर्न नसके राजिनामा दिन्छु’

खै सिन्डिकेट खारेज भएको ? मन्त्री महासेठ भन्छन्,-सिन्डिकेट अन्त्यसँगै सेवाप्रवाहमा सुधार

एकाधिकार कसैले फर्काउन सक्दैनः मन्त्री महासेठ

(प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग गरिएको कुराकानीको सम्पादित अंश)



प्रतिक्रिया दिनुहोस्

Screenshot