Logo

डाक्टरलाई अंकूश : बिरामीको मृत्य भए जेल हालिने(भिडियोसहित)



साउन २३, काठमाण्डौ । उपचारका क्रममा बिरामीको मृत्यु हुँदा डाक्टरको लापरवाही भएको भन्दै नेपालका धेरै अस्पतालमा हुलदंगा र तोडफोड हुने गरेको छ । यस्ता विवादहरु धेरैजसो अस्पताल प्रशासनसँगको सहमतिमा टुंगिने गरेका छन् ।

अब भदौ १ देखि नयाँ मुलुकी संहिता आएपछि भने डाक्टरले लापरबाही गरेका कारण विरामीको मृत्यु भएको पुष्टी भएमा जेल सजायँ दिने भएको छ ।

उपचारमा लापरवाही गर्ने डाक्टरहरुलाई कारबाहीको भरपर्दो व्यवस्था नहुँदा अहिलेसम्म चिकित्सकहरुमाथि कुनै कारवाही भएको छैन । तर, अब भदौ १ देखि लागू हुने मुलुकी अपराध संहिता ऐन दुई हजार ७४ मा डाक्टरको लापरवाहीले विरामीको मृत्यु भएको पुष्टि भएमा त्यस्ता डाक्टरलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

उक्त ऐनको इलाजसम्बन्धी कसुरको दफा दूई सय ३२ मा लापरवाही वा हेलचेक्र्याइ गरी इलाज गर्न नहुने उल्लेख गरिएको छ । त्यसमा कानुनबमोजिम इलाज उपचार गर्न पाउने व्यक्तिले कसैको इलाज गर्दा पर्याप्त होसियारी वा सावधानी अपनाउनु पर्दछ ।यदि लापरवाहीपूर्ण कारणबाट ज्यान मर्न गएमा वा अंगभंग भएमा ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा व्यवस्था गरिएको छ । यदि हेलचेक्र्याइँबाट मृत्यु वा अंगभंग भएमा भने ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था गरिएको छ । हाल प्रचलनमा रहेको मुलुकी ऐन दुई हजार २० मा भने डाक्टरले उपचारमा लापरवाही गरेमा २ वर्षसम्म कैद वा ५ सय जरिवानाको व्यवस्था थियो । औषधी उपचारका क्रममा विरामीको मृत्यु भएमा वा जीउमा हानी पीडा भएको ठहरेमा त्यस्तालाई जरिवाना सहित दुई वर्ष कैद वा दुबै सजायँ हुने भएको छ ।

यदि डाक्टरको लापरवाहीले कसैको ज्यान मारेर वा अंगभंग भएमा वा कुनै क्षति पुगेमा लापरवाही गर्ने डाक्टरले पीडितलाई क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था गरिएको छ । हाल प्रचलनमा रहेको मुलुकी ऐन दुई हजार २० मा उपचारमा लापरवाही गरेमा क्षतिपूर्तिको व्यवस्था छैन ।

https://www.youtube.com/watch?v=AnvBc6t8KWY&feature=youtu.be

मुलुकी ऐनमा भन्दा मुलुकी अपराध संहितता ऐनमा चिकित्सकको लापरवाहीको विषयमा स्पष्ट व्यवस्था र कारबाही कडा पारिएको छ । बदनियतपूर्वक उपचार गर्दा मृत्यु भए जन्मकैदको व्यवस्था समेत गरिएको छ ।नेपालका कतिपय अस्पतालमा विरामीको व्यथा नै थाहा नपाई उपचार गरेको घटना पनि कहिलेकाहीँ हुने गरेका छन् । एउटा खुट्टामा गर्नुपर्ने अपरेसन अर्कै खुट्टामा गरेको, गलत रोगको उपचार गरेका उदाहरण पनि पाइएको छ । अब डाक्टरको यस्तो हेलचेक्र्याईले बिरामीको मृत्यु भएमा जन्मकैदसम्म हुन सक्ने व्यवस्था मुलुकी अपराध संहितामा गरिएको छ ।

यदि यस्तो हेलेचेक्र्याइँले अंगभंग भएमा भने १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ऐनमा गरिएको छ । ऐनको प्रभावकारी गर्न सक्ने हो भने विगतमा जस्तो अस्पतालमा झै झगडा हुने परम्पराको हुने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्