Logo

‘नेपालको राजनीतिक परिवर्तनमा महिला संघको भूमिका महत्वपूर्ण’



काठमाडौँ, २५ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालको राजनीतिक परिवर्तनमा नेपाल महिला सङ्घको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाल महिला सङ्घ काठमाडौँले ‘सङ्घको ७१औँ स्थापना दिवस तथा तीजको शुभकामना आदानप्रदान कार्यक्रम’मा बोल्दै नेता सिंहले मुलुकमा भएका विभिन्न राजनीतिक परिवर्तनमा महिलाको ठूलो भूमिका रहेको बताएका हुन् ।

“राणाशासन, प्रजातन्त्र स्थापना, गणतन्त्र स्थापना लगायतका आन्दोलनमा नेपाल महिला सङ्घले महत्वपूर्ण भूमिका खेलेको छ,” उनले भने ।

नेता सिंहले महिला सङ्घले स्थापनाकालदेखि उठाउँदै आएका मुद्दालाई समयानुकूल परिमार्जन गर्दै महिलाको समग्र व्यक्तित्व विकासमा योगदान पुगेको बताए ।

उनले संविधानभित्र रहेका महिलाका हकअधिकारलाई अध्ययन गरेर कमीकमजोरी भए सच्याउँदै संविधान कार्यान्वयनका लागि नेपाल महिला सङ्घले नेतृत्व लिनुपर्ने उल्लेख गरे ।

काँग्रेस केन्द्रीय सदस्य कमला पन्तले महिला हकअधिकारका लागि नेपाल महिला सङ्घले स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका खेलेको बताईन।

उनले नेपालको राजनीतिक परिवर्तनमा महिलाको महत्वपूर्ण योगदान रहे पनि संसद् र पार्टी्भित्र महिलाको अहिलेसम्म उचित स्थान पाउन नसकेको गुनासो पोखिन् ।

काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा डिला सङ्ग्रौलाले नेपालीे महिलाको हकहित, सशक्तीकरण, जागरण र सामाजिक रुपान्तरणमा महिलाहरुको ठूलो योगदान रहेको बताईन् ।

काँग्रेस काठमाडौँका सभापति सबुज बानियाले महिला शक्ति बलियो नभएसम्म पार्टी र मुलुक बलियो नहुने बताए । गाउँगाउँसम्म महिला जागरण लैजान जरुरी रहेको नेता बानियाँको भनाइ थियो ।

नेपाल महिला सङ्घ काठमाडौँ अध्यक्ष विष्णुदेवी पुडासैनी, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी लगायतले काँग्रेसमा ५० प्रतिशत महिला सहभागिता बनाउनुपर्नेमा जोड दिएका थिए ।

नेपाली काँग्रेसको भ्रातृ संस्थाका रुपमा रहेको महिला सङ्घको स्थापना २००४ सालमा मङ्गलादेवी सिंहको नेतृत्वमा भएको थियो । रासस

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot