Logo

तारकेश्वर नगरपालिकाको दुरावस्था, जहाँ पुग्दा देखियो यस्तो, मेयरले के गरे ?



साउन २६, काठमाण्डौ । नेपालमा जथाभावी रुपमा नगरपालिका घोषणा गरिएको छ । जसका कारण जनताले नगरवासीको होइन, दुर दराजको विकट क्षेत्रमा पाईने जति पनि सेवा सुविधा पाउन सकेका छैनन् । यसको एउटा उदाहरण हो काठमाण्डौ जिल्लाको तारकेश्वर नगरपालिका । यस नगरपालिकाको सडकहरु निकै अस्तव्यस्त छन् ।

नगरपालिका घोषण गर्नुअघि स्थानीय तहको पुनर्संरचनाको सुझाव तयार पारिएको थियो । स्थानीय तहको सैद्धान्तिक अवधारणा, अन्तर्राष्ट्रिय मान्यता र अभ्यास बमोजिम सरकारलाई जनताको नजिक लैजान र जनतालाई प्रवाह गरिने सेवा सुविधामा सहज पहुँच स्थापित गर्न जनताको बसोबास प्रणाली, जनघनत्व, यातायात तथा पहुँचको सुगमता, वस्ती विकास एवं शहरीकरणको वर्तमान अवस्था र भावी सम्भावना, बजारको विकास जस्ता बिषयलाई पर्याप्त ध्यान दिई नगरपालिका बनाउनुपर्ने मान्यता रहेको छ ।

जनताले हाल पाइआएको सुविधामा कमी नहुनेगरी आवश्यक पूर्वाधार भएको क्षेत्रलाई नगरपालिका बनाउनुपर्ने हुन्छ । सडब, विजुली, खानेपानी, स्वास्थ्य संस्था जस्ता आधारभूत आवश्यकता नगरपालिकाका लागि अनिवार्य जस्तै मानिन्छ ।

तर नेपालमा जथाभावी रुपमा नगरपालिका घोषणा गरिएको छ । जसका कारण जनताले नगरवासीको होइन, दुर दराजको विकट क्षेत्रमा पाईने जति पनि सेवा सुविधा पाउन सकेका छैनन् । यसको एउटा उदाहरण हो काठमाण्डौ जिल्लाको तारकेश्वर नगरपालिका । यस नगरपालिकाको सडकहरु निकै अस्तव्यस्त छन् ।
एक पटक यो दृश्य हेर्नुहोस्, के यो नगरपालिका भन्न लायक छ त ?

https://www.youtube.com/watch?v=-vLaIf04_H4&feature=youtu.be

तारकेश्वर नगरपालिकाको नेपालटार देखि शेसमति हुँदै धर्मस्थलि काभे्रस्थलितर्फ जाने सडक खण्ड निकै अस्तव्यस्त छ । यस नगरपालिका भित्र पर्ने अधिकांश सडक कच्ची मात्रै होइन, सवारी साधन चलाउँदा खल्डा खुल्डी छल्न नै मुस्किल हुने खालको छ । सडक खण्डमा बर्षयाम सुरुभए सगै हिलोले पैदल यात्रु मात्रै होइन सवारी साधन समेत चल्न सक्ने स्थिती छैन । तर पनि यि सडक खण्डमा दैनिक हजारौँ सवारी साधन चलेकै छन, निकै सास्ती सहेर ।
निकै अस्त व्यस्त सडक खण्डमा विभिन्न बाहानमा सडक भत्काइन्छ तर मर्मत सम्भार गरिदैन । विगत चार–पाँच वर्षअघि देखि यो क्षेत्रका सडकहरु यस्तै छन् ।
यस क्षेत्रका नागरिकहरु नगरपालिका र सडक विभाग लगायत सम्बन्धित निकायमा धाउदा धाउँदा हैरान भएका छन । सबै निकायको लापरबाहिका कारण यहाँका स्थानियले निकै सास्ति भोग्नु परिरहेको छ ।

तारकेश्वर नगरपालिकामा चुनाव भएर जननिर्वाचित प्रतिनिधी आउको पनि १५ महिना भइसक्यो । जनताका हरेक समस्या समाधान गर्नका लागि स्थानीय निकायको परिकल्पना गरेर काम अघि बढाउने भनिएको थियो । तर चुनाव जित्नका लागि लोभलाग्दा योजना देखाउने र भाषण गर्नेहरु चुनाव जितेपछि निरिह बनेका छन् । जनतका लागि सबै काम गर्छु भन्नेहरुले अहिले विभिन्न बहाना देखाएर काम गर्न सकेका छैनन् ।

तारकेश्वर नगरपालिकामा अघिल्लो वर्ष भएको चुनावबाट मेयरमा निर्वाचित भएका थिए, रामेश्वर बोहोरा । उनलाई चुनावअघि विकासप्रेमी नेताको रुपमा चित्रित गरिएको थियो । तर अहिले उनको काम गराई सन्तोषजनक छैन । १५ महिनाअघि देखि मेयरको कुर्सीमा बसेका मेयर बोहोराले प्राइम टाइम्स टेलिभिजनसँग कुरा गर्दै यि सडक खण्ड निर्माणका लागि अझै दुई वर्ष लाग्ने बताएका छन् ।

जनताले चुनेर पठाएको जनप्रतिनिधिको काम भनेको जनताको सेवागर्ने हो । भौतिक पुर्वाधार लगायतका विकासका काम गरेर जनतालाइ सुख सुविधा तथा सम्वृद्धि दिनु उनीहरुको जिम्मेवारी हो । तर यो जिम्मेवारीलाइ गम्भिर रुपमा लिन नसक्दा यो एउटा नगरपालिका बेथितीको गतिलो उदाहरण बनेको छ ।।

मेयर रामेश्वर बोहोराले अझै दुई वर्षको भाका राख्दै गर्दा सडक छेउछाउका जनता भने अहिले नै आजित भइसकेका छन् । अस्तव्यस्त बाटोको समस्या एकतारित छ भने सडकको क्षमताभन्दा बढि सवारी साधन चल्नु अर्को समस्या । ठूला मालबाहक ट्रक गुडाइदा दिनप्रतिदिन सडक भत्किदै गएको छ ।

कहाँ के समस्या छ भनेर पहिचान गर्ने अनि प्राथमिकताका आधारमा विकास निर्माणको काम गर्नु स्थानीय निकायको जिम्मेवारी हो । तर जनताले नै समस्या देखाइदिदासमेत काम भएको छैन । नगरपालिका र सडक विभागले स्थानीयबासीलाई काम होइन दुःख मात्र दिएको छ । सडक मर्मत गर्नका लागि नगरपालिकालाई आग्रह गर्न जाँदा सडक विभागतिर पठाउने, अनि सडक विभाग जाँदा पुनः नगरपालिकातिर पठाउने प्रवृत्तिले स्थानीयबासीलाई थप पीडा भएको छ ।

यता मेयर बोहोराले भने सडक विभागसँग सम्झौता गरेर काम अघि बढाइसकिएको दाबी गरेका छन् । दुई वर्षभित्रमा उनको भनाईलाई विश्वास गर्ने हो भने अब तीब्र गतिमा काम हुन्छ । जनताले तत्काल विकासको अपेक्षा गर्नु स्वभाविक भएको स्विकार गर्दै उनले केही समयभित्रमा जनताको चाहना पूरा गर्न सक्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मेयरको प्रतिवद्धता एकातिर छ, जनताको सास्ती अर्कोतिर । वर्षौदेखि यस्तै आश्वासन सुन्दै आएका जनताले विकास र समृद्धिको संकेतसमेत देख्न पाएका छैनन् । यो समस्या तारकेश्वर नगरपालिकाको मात्रै होइन, देशैभरीका स्थानीय निकायले प्रभावकारी काम गर्न नसकेको गुनासो आइरहेको छ । तर सम्बन्धित निकायले भने जनताको चाहनालाई प्राथमिकतामा राख्न सकेको पाइदैन । अहिले नगरे कहिले गर्ने ? अब भाषण र कागजी योजनाले मात्रै हुँदैन । जनमतको कदर गर्दैपर्छ । यो कुरा सम्बन्धित निकाय र व्यक्तिले हेक्का राख्नु जरुरी छ ।

(प्राइम टाइम्स टेलिभिजनका लागि सृजना कार्कीले तयार पारेको रिपोर्ट)



प्रतिक्रिया दिनुहोस्