Logo

कहाँ गए उनीहरू ?



काठमाडौं २७ साउन ।  झापामा प्रत्येक वर्ष महिला तथा बालबालिका हराउने क्रम बढेको छ । तीमध्ये हरेक वर्ष सरदर एक सय ४० भन्दा बढीको अवस्था अज्ञात छ ।  पछिल्लो ४ वर्षको प्रहरी तथ्यांकले ५ सय ६४ जना बेपत्ता भएको देखाएको छ।

उनीहरूको अवस्थाबारे कुनै निकायसँग जानकारी छैन। जिल्लामा २०७१/७२ मा तीन सय ३० महिला तथा बालबालिका हराएका थिए। तीमध्ये ६० भेटिए। एक सय ७० जना बेपत्ता छन्। ०७१/७२ मा तीन सय ५५ जना हराएको निवेदन परेको थियो।

२ सय ३६ जना मात्र फेला परे। एक सय १९ जना बेपत्ता छन्। ०७३/७४ मा अघिल्लो वर्षको तुलनामा हराउनेको संख्या बढेर ४ सय २८ पुग्यो। २ सय ७६ जना फेला परे पनि एक सय ५२ जना अझैसम्म बेपत्ता छन्।

महिला तथा बालबालिका हराउने क्रम थामिएको छैन। यो संख्या ०७४/७५ मा ५ सय १२ पुगेको छ। तीन सय ८८ फेला परे पनि एक सय २४ जनाको अवस्था नखुलेको प्रहरीले जनाएको छ। डीएसपी जितेन्द्र बस्नेतले पछिल्लो समय यो विषय अति गम्भीर रूपमा देखा परेको बताए।

उनले भारतसँगको खुला सिमाना, वैदेशिक रोजगारी र सामाजिक सञ्जालका कारण महिला तथा बालबालिका हराउने क्रम बढदै गएको बताए।

‘पारिवारिक विचलनले यस्ता घटना बढेका छन्। सामान्य विषयमा घर झगडा हुन्छ। त्यतिमै घर छाडेर हिँड्ने चलन बढेको छ,’ डीएसपी बस्नेतले भने, ‘हिँडदा पनि आफन्त र चिनारुकोमा नजाने गरेको देखिन्छ।’

महिला सुरक्षा दबाब समूहकी जिल्ला अध्यक्ष शारदा रिजालले महिला हिंसा र बलात्कार जस्तै गम्भीर प्रकृतिको समस्याका रूपमा यो विषय देखा परेको बताइन्। उनले पनि वैदेशिक रोजगारकै क्रममा महिला हराउने र बेपत्ता हुने क्रम बढेको दाबी गरिन्।

‘धेरै महिला घरपरिवारमा थाहै नदिई वैदेशिक रोजगारमा जाने गरेका छन्। उनीहरूमध्ये अधिकांश भारतीय बाटोको प्रयोग गर्छन्,’ रिजालले भनिन्, ‘सोही क्रममा धेरै महिला हराउने र बेपत्ता हुने अवस्था सिर्जना भएको हामीले पाएका छौं।’

उनले कतिपय अवस्थामा बलात्कारपछि हत्या हुने, भिन्न ठाउँमा गएर लुकेर यौन क्रियाकलापमा संलग्न हुने गरेकाले पनि बेपत्ताको संख्या बढी देखिएको बताइन्।

अधिवक्ता उमा कार्कीले समाजमा बढदो महत्त्वाकांक्षाले पनि हराउने घटना बढेको बताइन्। ‘अहिले मान्छेमा आफ्नो हैसियतभन्दा बढी पैसा कमाउने र देखाउने प्रवृत्ति बढेको छ।

यो कुराले धेरै महिला दिदीबहिनीहरू लुकीछिपी दलालको फन्दामा परेर वैदेशिक रोजगारमा जाने गरेका छन्,’ उनले भनिन्, ‘प्रलोभनमा परेर अन्जान मान्छेको विश्वासमा पर्दा भारतमा बेचिएका, बेवारिसे अवस्थामा छाडिएका तथा विदेश पुगेर पनि परिवारको सम्पर्कमा आउन नसकेका घटना धेरै छन्।’

उनले घरेलु हिंसा तथा बलात्कारजन्य क्रियाकलापलाई जस्तै महिला तथा बालबालिका हराउने र बेपत्ता हुने क्रमलाई रोक्न पनि राज्य संयन्त्र गम्भीर भएर लाग्नुपर्नेमा जोड दिइन्। कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्