Logo

भरीयाको विलौना :‘लौन पत्रकार दाई, यो समस्या सरकारलाई सुनाईदिनुहोस्’



काठमाडौं, २७ साउन । संघीय राजधानी काठमाडौंका बाटामा केही समय र केही दुरीमात्रै हिँड्ने हो भने अनेक जिन्दगीहरु देख्न पाईन्छन । गाउँका मान्छेहरुमाथि काठमाडौंका कुकुरहरुले देखाएको दादागिरीको बारेमा भन्नै पर्दैैन् । गाउँले जिन्दगी काठमाडौंमा पुग्दा सहरका कुकुरहरु झम्टिन खोज्छन् ।

फोहोर सामानहरु टिप्न हिँडेका मानिसहरुमाथि पनि संघीय राजधानीका कुकुरहरु गाउँकै मानिसलाई झैं हेप्छन् । मैले देखिरहेको दृश्य हो । ‘पत्रकारिताता जागिर होईन।’ यो कुरा बेलाबेलामा मेरै सहकर्मीहरुले बोल्ने वाक्य हो । जागिरका रुपमा गरिने पत्रकारिताले समाज र देशलाई माथि उठाउन सक्दैन भन्ने मेरो थप मान्यता छ ।

समाज परिवर्तन गर्न सक्दैन् । यदि पत्रकारको जीवनले असली पत्रकारिताको कर्तव्य पूरा गर्ने हो भने त्यो जीवन कारखानामा काम गर्ने मजदुरको भन्दा कम हुँदैन् । बर्खा, झरी होस् या कठ्याङग्रिँदो जाडो नै किन नहोस् । भोक, प्यास, थकाई सारा कुराहरुको वास्ता नगरी केवल सूचना र विचार दिन तत्लीन हुनुपर्ने जिन्दगी हो पत्रकारको । जुन जीवन मैले एक दशक पहिलेदेखिनै भोग्दै आएको छु ।

त्यसैलेपनि सम्मानित रुपमा पत्रकारले काम गर्ने थलो सूचनाको कारखाना हो । जहाँ अनेकन सूचनाहरु एकसाथ सम्प्रेषण हुन्छन् । त्यतिमात्रै होईन, पत्रकारहरुले नयाँ विचार र सोचहरु पनि प्रवाह गरिरहेका हुन्छन् (सबैले होईन)।

बाल्यकालमा आमा भन्नुहुथ्यो । हरियो घाँस देखेसी घरको भैसी सम्झिन्छु । म सोच्थें की आमाले यो कुरा किन भन्नुहुन्छ । त्यसपछि मलाई कुनै मतलव हुँदैनथियो । आज आएर केही समय र केही दुरीमात्रै बाटोमा हिडिँयो भने समाचारहरुका अनेक स्रोतहरु देखिन्छन् । अनि मैले आमालाई सम्झिन्छु । देखिएका विषयहरुलाई समाचारको आकार दिन बाध्य हुन्छु । पत्रकारितामा बाध्यता शब्दले कुनै असर गर्दैन । किनकी हाम्रो कर्तव्यनै कुनै हालतमा सूचना र विचार दिने हो ।

कुरा हिजो (शनिबार) को हो । रिपोर्टर्स क्लव नेपालको केन्द्रीय कार्यालय भृकुटिमण्डपबाट कार्यालयको काम सकेर अपरान्ह ४ बजे सहकर्मी महेश भण्डारी र म बाहिरियौं । केही गन्थन–मन्थन गर्दै नेपाल पर्यटन बोर्डको अगाडिबाट म पुरानो बसपार्कतिर हानिएँ । महेशजी नयाँ बानेश्वरतिर । आगामी भदौ महिनाभित्र निर्माण कार्य पूरा भईसक्नुपर्ने जगसम्म नहालेको र टिनले घेरिएको ‘काठमाडौं भ्यु टावर’ नजिकै पुग्दा एउटा भरिया देखें । उनलाई देखेपछि मेरो मन टक्क अडियो । एक तमाशले हेरिरहें ।

काठमाडौंका टुकुजा बजारका भरियाको जीवन देखेर जनगायक जीवन शर्माले गीत नै गाउनुभएको छ । शर्मामात्रै नभएर अर्की चर्चित गायिका विष्णु खत्रीले ‘भरिया दाईले बिसौने भारी’ बोलको गीत गाउनुभएको छ । जीवनमा भरिया र भारी धेरै देखियो । कर्णाली प्रदेशका बालबालिकाको पिठ्यूँमा देखिएको भारि र मैले पुरानो बसपार्कमा भरियाले बोकेको भारिको आकार धेरैले देखन पाउँदैनन् जस्तो लाग्छ ।

पुरानो बसपार्कको मुखैमा एउटा प्रहरी विट छ । टुकुचादेखि छिटफुट रुपमा पूरानो बसपार्कतर्फ सवारीहरु गुडिरहेका थिए । केही समय पहिले बाक्लै रुपमा सडकको बीच भागमा राखिने डिभाईडरमा मेरो नजर गयो । जहाँ एउटा भरिया थिए । बिमिस्टेक वैठककको पूर्व समय भएरपनि होला । राजधानीका गल्लीगल्लीमा सुरक्षाकर्मीहरुको बाग्लो उपस्थिति देखिन्छ ।

सुरक्षाकर्मीले पनि ती भरियालाई एक तमासले हेरिरहेका थिए । त्यो भारी उचाल्न भरियाले खुब प्रयास गरिरहेका थिए । तर उचाल्न सकेका थिएनन् । तौलका हिसावमा कम थियो होला तर भारि असहज थियो । त्यसैले पनि उनलाई उक्त भारी उचाल्न धौ-धौ भएको मेरो सहज अनुमान थियो । केहीबेर रोकिएर मैले भरियालाई हेरें । उनीले भारी उचाल्न नसक्ने देखेर भरिया भएको ठाउँमा पुगें । भारी उचाल्न सहयोग पनि गरें । भरियासँगै काठमाडौ नाक, कान घाँटी अस्पतालसम्म पुगें ।

केही समय अघिसम्मका भरियाको नाम रहेछ प्रकाश तिमिल्सिना । रामेछापका २६ वर्षीया तिमिल्सिनाले विगत १० वर्षदेखि राजधानीमा यसरी नै भारिसँग पौंठेजोरी खेल्दै आएका रहेछन् । दान बहादुर तिमिल्सिना र रत्ना तिमिल्सिनाको कोखबाट रामेछापमा जन्मिएका प्रकाशले साधारण लेखपढ मात्रै जानेको सुनाए ।

७ महिनाको छोराको स्याहार-सुसारमा प्रकाशकी धर्मपत्नी बागबजारस्थित् आफ्नै कोठामै हुन्छिन् । प्रकाश हरेक दिन यसरीनै भारी बोक्ने काम गर्छन् । उनलाई संविधान, नियम, राजनीतिक वा विकासका बारेमा कुनै हेक्का छैन् । केवल परिवार कसरी पाल्ने ? र छाक कसरी टार्ने भन्ने चिन्तामात्रै हुने रहेछ ।

बर्खाको समयमा कोठाभाडा र खान लाउन मुस्किल हुने कुरा बताएका प्रकाशले दिनमा पाँच सयपनि मुस्किलले कमाई हुने कुरा सुनाए । हिउँदको समयमा एक हजारदेखि २ हजारसम्म कमाई हुने उनको भनाई छ ।

पिठ्यँुमा बोकेको पलास्टिकको कार्टुनको भारीले असाध्यै घोचेको महसुस गर्दै, एकहातले पसिना पुच्दैै प्रकाशले भने,‘बर्खाको समयमा काम मिल्दैन, कोठा भाडा, खान बस्नपनि निक्कै धौ–धौ हुन्छ, हिउँदको समयमा अलि काम हुन्छ, त्यतिबेला चाँही ठिकै हुन्छ ।’

वर्तमान सरकारसँग उनको गुनासो पनि रहेछ । मैले परिचय गर्दा आफ्नो नाम र पेशा बताएको कारण सरकारलाई सुनाई दिन समेत आग्रह गरे । उनले भने,‘महंगीले हामीजस्ता गरिबहरुको हरिबिजोक भयो, यो भारीले त सधैँ थिचेकै थियो, महंगीलेपनि गरिबलाईमात्रै थिच्ने रहेछ, कोही मानिस यसको बिरोधमा बोल्दैनन्, हामीलाई छाक टार्न समेत सकस भयो, हामी कसरी बाँच्ने, कसरी कोठा भाडा तिर्ने ?

परालले बाँधेको तीन त्यान्द्रा सागको २५ रुपैयाँ पर्छ, घरमा लगेर केलाउँदा सागभन्दा बढि पराल र फोहोर हुन्छ, भारी बोकेर थाक्दा पसलमा बसेर कालो चियासम्म खान नसक्ने स्थिति आयो, लौन पत्रकार दाई यो समस्या सरकारलाई सुनाईदिनुस् ।’

प्रकाशको स्थिति र महंगी वृद्धिबारे म लेख्न सक्छु । सरकारलाई सुनाउन पनि सक्छु । तर मुल्य नियन्त्रण भने गर्न सक्दिन । यो त सरकारको काम हो, मनमनै यही सोचें । प्रकाशसँगको छोटो कुराकानीको एउटै सार :‘नेपालमा ठूलो परिवर्तन भयो । लोकतन्त्र, गणतन्त्र सबै आयो तर गरिब, किसान, मजदुरहरुको लागि त्यो परिवर्तनले छुन नसकेको महसुस भयो । प्रकाश टुकुचातिर लागे । म आफ्नो गन्तव्य । ‘कलम बनेर ज्ञान बाडौं, गुलाव बनेर प्रेम’ तथास्तुः ।

फोटो/प्रस्तुति :धनराज वास्तविक 



प्रतिक्रिया दिनुहोस्

Screenshot