Logo

घातक बन्दै प्राकृतिक विपत्ति : चार महिनामा ५२९ को ज्यान गयो



काठमाडौं २९ साउन ।
पछिल्ला चार महिनामा प्राकृतिक विपद्का कारण मात्रै ५ सय २९ जनाको ज्यान गएको छ । झन्डै दुई अर्ब रुपैयाँबराबरको धनमालको क्षति भएको छ । भारी वर्षा, बाढी, पहिरोका कारण सबैभन्दा धेरै जनधनको क्षति भएको गृह मन्त्रालयको तथ्यांकले देखाउँछ । चार महिनामा यी तीन कारणले ज्यान जानेको संख्या ३०० छ । १ अर्ब ९९ करोड १ लाख मूल्यबराबरको धनमालको क्षति भएको छ ।

‘नेपालमा प्राकृतिक विपत्तिका घटना खासगरी १५ जेठदेखि १५ भदौसम्म तीन महिना बढी हुने गरेको देखिन्छ । मनसुनको अवधि भएकाले बाढी र पहिरो बढी जान्छ । नदी तथा खोलाको बहाव पनि यही वेला बढ्छ । यो अवस्थामा प्राकृतिक विपत्ति निम्तिन्छ र दुःखद् घटना हुन पुग्छन्,’ प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले भने ।

एक हजार सात सय १९ घटना, ८८ जना बेपत्ता
गृहको तथ्यांकअनुसार चार महिनाको अवधिमा प्रकृतिक विपत्तिका १ हजार ७ सय १९ घटना भए । घटनामा परी ८८ जना अझै बेपत्ता छन् । २ हजार २ सय ८७ सर्वसाधरण घाइते भए । ४ हजार १ एक सय ९४ घरपरिवार प्रभावित भए । १ हजार ९ सय ८४ घरमा क्षति पुगेको छ । प्राकृतिक विपद्मा मुलुकभर १ हजार ५ सय ४९ चौपाया मरेका छन् भने २ सय ३२ गोठ नष्ट भएका छन् ।

७ वर्षमा साढे १२ हजारको मृत्यु
गृहको तथ्यांकअनुसार ७ वर्षको अवधिमा प्राकृतिक विपद्मा १२ हजार ७ सय ६२ ले ज्यान गुमाएका छन् । यो अवधिमा सबैभन्दा धेरै ०७२ मा भूकम्पका कारण क्षति भएको छ । भूकम्पमा मात्रै ८ हजार ९ सय ७० जनाको त ज्यान नै गयो ।

सात वर्षमा प्राकृतिक विपद्मा बेपत्ता हुनेको संख्या एक हजार पुगेको छ । बेपत्ता हुने पनि सबैभन्दा धेरै भूकम्पकै वेला धेरै छन् । यस अवधिमा मुलुकभर १ सय ९७ सर्वसाधारण बेपत्ता हुन पुगेका थिए ।

प्रत्येक वर्ष कम्तीमा तीन अर्बको क्षतिे
प्राकृतिक विपद्मा मात्रै प्रत्येक वर्ष कम्तीमा सवा ३ अर्बको धनमाल क्षति हुने गरेको छ । गृहको तथ्यांकअनुसार प्रत्येक वर्ष सबैभन्दा धेरै बाढी, पहिरो र आगलागीका कारण धनजनको क्षति हुने गर्छ । गत वर्ष मात्रै २ अर्ब ५९ करोड ९१ लाखबराबरको क्षति भएको थियो । यो विपद्मा ३३० ले ज्यान गुमाए ।

धनजनको क्षति हुने अर्को कारण अत्यधिक वर्षा र हुरी पनि हो । जसकारण गत वर्ष मात्रै १७ जनाको ज्यान गयो भने ३ करोड ७२ लाख ७७ हजारको क्षति भयो । त्यस्तै, चिसोका कारण गत वर्ष १०५ जनाको ज्यान गयो भने ५३ लाख १५ हजार रुपैयाँ मूल्यबराबरको धनमालको क्षति भयो । नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्