Logo

‘हेलो सिएम’का तीन महिना, गुनासो १३५ सम्बोधन शून्य



काठमाडौं २९ साउन । मुख्यमन्त्रीले नै प्रत्यक्ष निगरानी र निर्देशन दिने गरी प्रदेश ७ सरकारले सञ्चालन गरेको ‘हेलो सिएम’ कार्यक्रम प्रभावकारी देखिएको छैन । तीन महिनामा सर्वसाधारणले उत्साहपूर्वक रूपमा गुनासो टिपाए पनि त्यसको सम्बोधन भने शून्य देखिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सर्वसाधारणबाट आएका गुनासालाई सम्बन्धित निकायमा लेखेर पठाउने गरेको छ । तर, ती निकायले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वास्ता गर्ने गरेका छैनन् ।

हेलो सिएमबाट पठाएका गुनासामध्ये कति सम्बोधन भए भन्ने जानकारी सम्बन्धित निकायबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नआएको प्रवक्ता बिसनसिंह थापाले बताए । ‘गुनासा सम्बोधन गर्न र त्यसको लिखित जानकारी प्रदेश सरकारलाई पठाउन भनेर सम्बन्धित निकायमा पत्राचार गरे पनि त्यसको जानकारी आउँदैन,’ प्रवक्ता थापाले भने ।

हेलो सिएमको उद्घाटन गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले गुनासो सम्बोधनका लागि प्रदेश सरकारले उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाएका थिए । तर, गुनासाको सुनुवाइ हुन नसक्दा कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।

१३५ गुनासो
सरकारी कामकारबाही, सेवालगायतका विषयमा सर्वसाधारणका गुनासा सुन्न प्रदेश सरकारले ७ जेठदेखि ‘हेलो सिएम’ कार्यक्रम सुरु गरेको थियो । यसमा हटलाइनमार्फत सर्वसाधारणले एक सय ३५ गुनासा टिपाएका छन् ।

जसमध्ये सडक पूर्वाधारसम्बन्धी २७, विद्युत्सम्बन्धी २८, आर्थिक अनियमिततासम्बन्धी १३ र शान्ति सुरक्षासम्बन्धी ६ गुनासो परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । त्यस्तै, शिक्षा, स्वास्थ्य, ट्राफिक व्यवस्थापन, सार्वजनिक जग्गा अतिक्रमण, छाडा चौपाया नियन्त्रण, खानेपानी, वनसँग सम्बन्धित गुनासा आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता थापाले बताए । नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot