Logo

चितवनको गैंडा काठमाडौँमा, भोली चीन पठाइने



साउन ३०, काठमाण्डौ । छिमेकी राष्ट्र चीनलाई उपहारस्वरुप पठाउन लागिएको थप एक जोडी एक सिंगे गैंडा काठमाडौं ल्याइएको छ । सौराहामा राखिएको जोडी गैंडा ‘सोल्टी’ र ‘मितिनी’लाई मंगलबार साँझ चितवनबाट काठमाडौं ल्याइएको हो ।

जोडी गैंडा ‘सोल्टी’ र ‘मितिनी’लाई साउन ३१ गते चीन पठाउने तयारी भएको छ । गैंडा छोड्न चितवनबाट प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल, १० सुरक्षाकर्मी, केयर टेकर ३ जना, भेटेनरी सहायक १ जना गैंडासँगै काठमाण्डौ आएका छन् ।

गैँडाको उत्पत्तिको प्रमाणपत्र, स्वास्थ्यसम्बन्धी प्रमाणपत्र, क्वारेनटाइन प्रमाणपत्र, साइटिस निर्यात सम्बन्धी प्रमाणपत्रलगायतका सबै कानुनी प्रक्रिया पुरा भइसकेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । ‘मितिनी’लाई निकुञ्जको पश्चिम सेक्टरबाट गत वैशाखमा नियन्त्रणमा लिइएको थियो ।

‘सोल्टी’ नाम राखिएको भालेलाई अघिल्लो वर्षको साउनमा आएको बाढीले बगाउँदा भारतीय सीमा नवलपरासीको त्रिवेणीबाट उद्दार गरी ल्याएर सौराहामा राखिएको थियो । नेपाल सरकारले यसअघि एक जोडी ‘भद्र’ र ‘रुपसी’लाइ चीन पठाई सकेको छ । सो गैँडालाई चीनको ग्वान्झाओस्थित चिमे लाङग पार्कमा राखिएको छ भने अहिले पठाउन लागिएको सोल्टी र मितिनीलाई चीनको सांघाई चिडियाखानामा राखिने जनाइएको छ । गणना अनुसार नेपालमा ६ सय ४५ एकसिंगे गैंडा रहेका छन् । ती मध्ये ६ सय ५ चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्