Logo

सरकारमा ओली र पार्टीमा प्रचण्डको भूमिका बढ्दै गएको छ : गजुरेल



साउन ३१, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले पार्टीभित्र भागबण्डाको राजनीति नभएको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै गजुरेलले पार्टीको तल्लो तहसम्म एकता प्रक्रिया अगाडि बढिरहेको बताउँदै गजुरेलले पार्टीभित्र कुनै समस्या नरहेको बताए ।

शीर्ष नेताहरुबीच भागबण्डाको विषयमा कुनै विवाद नै नउठेको उनले बताए । “भागबण्डा शब्दको त प्रयोग नै नगरौँ । हिजोका तिता गुठबन्दीलाई अहिले निरन्तरता दिने होइन, समिक्षा गर्ने हो ।”

तर पूर्व पार्टीहरुको हैसियतका आधारमा भातृ संगठनको एकता गरिने उनले बताए । सहमतिका आधारमा तल्लो तहसम्म एकता गरिने भन्दै उनले वैज्ञानिक तरिकाले एकता गर्नुको विकल्प नरहेको बताए ।

प्रदेशमा एकताको प्रक्रिया अगाडि बढिरहेको उनले बताए । दुई जना अध्यक्षको सहकार्यले नै पार्टीभित्रको सबै काम सम्पन्न गरिने गजुरेलको भनाई छ ।

व्यवहारिक रुपमा सरकारको काममा प्रधानमन्त्री केपी ओली र पार्टीको काममा अध्यक्ष पुष्पकमल दाहालको भूमिका बढि हुने उनले बताए ।

“प्रधानमन्त्री ओलीको व्यस्तताका कारण पार्टीको काम कारबाहीमा समय दिन पाउनुहुन्न । त्यसकारण प्रचण्डले नै पार्टीमा प्रभावकारी भूमिका बनाउनुहुन्छ । तर एक व्यक्ति एक पद चाँही तत्काल हुँदैन ।” गजुरेलले भने ।



प्रतिक्रिया दिनुहोस्