काठमाडौं, ३१ साउन। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गलत कामको सशक्त प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, भ्रातृ एवम् शुभेच्छुक संस्थाका प्रमुखहरुको आज राजधानीमा भएको प्रशिक्षण भेलामा कांग्रेस नेतृत्वले सरकारले जनचाहना विपरित काम गरेको भन्दै गलत कामको सशक्त प्रतिवाद गर्न निर्देशन दिएको हो ।
बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले गरिब नागरिकको ढाँड सेक्ने गरी कर वृद्धि गरेको भन्दै सरकारको आलोचना गरे ।
नेता पौडेलले भने,‘गरिब नागरिकको ढाड सेक्नेगरि बढाएको कर तत्काल फिर्ता हुनुपर्छ । संघ, प्रदेश र स्थानीय सरकारले गरेको कर वृद्धि तत्काल फिर्ता लिन म सरकारलाई आग्रह गर्छु ।’ उनले कम्युनिस्ट नेतृत्वको सरकारले जनतालाई कुनै पनि विषयमा राहत दिन नसकेको आरोप लगाए ।
त्यस्तै उपसभापति विमलेन्द्र निधिले कांग्रेसले जनचाहनाअनुसारका मुद्धालाई संसद्मा सशक्त ढंगले उठाउनुपर्ने बताए । सरकार जनताको नजरमा कमजोर भई सकेकाले अब कांग्रेसले जनचाहना अनुसारको काम गर्नुपर्ने उनको भनाई थियो ।
नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले मुलुकको आर्थिक अवस्था धरासायी भएको टिप्पणी गरे । सबै क्षेत्रमा कर वृद्धि गरिएकाले त्यसको प्रत्यक्ष असर उद्योगी, ब्यापारी र सर्वसाधरणमाथि गरेको उनको भनाइ थियो ।