काठमाडौं, १ भदौ । नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीले मुलुकी ऐनलाई बारले स्वागत गरेको बताएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सरकराले १६५ वर्षपछि मुलुकी ऐनलाई कानूनी रुप दिएको छ, १९१० पछि २०२० सालमा केही रुपमा परिवर्तन गरिएको मुलुकी ऐन वर्तमान सकारले उक्त ऐनलाई प्रतिस्थापनको रुपमा ल्याएको छ, यसको उपभोग, कार्यान्वयन र व्यबहारिक रुप दिनको लागि सरकारलाई सबैले साथ दिनुपर्छ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा उनले थपे,‘आजदेखि लागू गरिएको मुलुकी ऐनले मुलुककलाई नयाँ उचाई दिन सकोस्, सबैलाई समान तरिकाले सम्मान गर्न सकोस्, केही समस्याहरु देखिएका छन्, सरकारले समाधान गर्न मिल्ने र संशोधन गर्न सकिने कानून परिमार्जित गरोस्, मुलुकभित्र बस्ने र मुलुकबाहिर बस्ने नेपालीहरुको साथ र सहयोगको आधारमा मुलुक अघि बढ्छ।’
बार अध्यक्ष केसीले वर्तमान कानूनलाई सहज रुपमा नलिनसमेत आग्रह गरे । उनले भने,‘वर्तमान कानून कडा छ, यसलाई सहज रुपमा लिएर पालना गर्नुपर्छ, कानूनी राज्यको अनुभुत गराउन सरकारले कुनै कसर बाँकी राख्नुहुँदैन, बार अनि मेरो आग्रह भनेकै यस ऐनलाई कार्यान्वयन गर्न सबैलाई साथ दिनुहोस् भन्नेनै हो ।’