Logo

चोर ठेकेदार, जग्गा कब्जा गर्ने र चन्दा असुल्नेमाथि कडा कारबाही हुने



भदौ १, काठमाण्डौ । अब काम चोर ठेकेदार, जग्गा कब्जा गर्ने व्यक्ति र चन्दा असुल्नेहरुमाथि कडा कारबाही हुने भएको छ । भदौ १ बाट लागु भएको नयाँ मुलुकी ऐनअनुसार अब यस्ता प्रकृतिका काम गर्नेलाई १ वर्षदेखि १० सम्मको जेल सजाय हुने भएको छ । ठेक्का लिने तर समयमै काम नसक्ने ठेकेदारलाई १० वर्ष जेल हालिने भएको छ भने अरुको जग्गा कब्जा गर्नेलाई ३ वर्ष कैद हुने भएको छ । जथाभावि चन्दा असुल्नेलाई भने ७ वर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको छ ।

केहि महिना अघि गृह मन्त्रालयले समयमा काम पूरा नगर्ने ठेकेदारमाथि कारबाही गर्ने भन्दै ठूलै हल्लिखल्लि मच्चायो । केहि ठेकेदारलाई नियन्त्रणमा लिएर त्रर्साउने काम पनि गर्यो तर, उनीमाथि कानुनको अभावमा थप कारबाही हुन सकेन् । अब भने यस्ता ठेकेदार कुनै बाहानामा उम्किन नपाउने भएका छन् । भदौ १ देखि लागू भएको मुलुकी अपराध संहिता ऐनले समयमा काम पूरा नगर्ने ठेकेदारलाई १० वर्षसम्म कैद सजायको व्यवस्था गरेकोे छ ।

अब ठेकेदारले तोकिएको समयमा काम नगरेमा वा गुणस्तर र मापदण्ड फरक पारेर काम गरेमा १० वर्षसम्म कैद र १ लाख जरिवाना गरिने भएको छ । मुलुकी अपराध संहिताको दफा २५० मा बेइमानीका साथ वा कुनै मालवस्तु वा सेवा आपूर्ति गर्नेले पनि तोकिएको गुणस्तर भन्दा कमसल वा थोरै परिमाणमा सामान वा सेवा आपूर्ति गरेमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ । यस्तै मुलुकी अपराध संहितामा कसैको जग्गा कब्जा गर्नुलाई जग्गाको आपराधिक उपयोग भनी उल्लेख गरिएको छ ।

अर्काको जग्गा गलत नियतले कब्जा गरी उपयोग गरेमा, हानी नोक्शानी वा हिनामिना गरेमा वा सम्बन्धित व्यक्तिको मञ्जुरीविना भाडामा लगाएमा वा बिक्री गरेमा सम्पत्तिको आपराधिक दुरुपयोग मानिने ऐनमा उल्लेख गरिएको छ । तर सधियारले भुलवश साँध मिचेमा भने आपराधिक दुरुपयोग मानिने छैन । यस्तो कसुरलाई दुई प्रकारमा विभाजन गरी छुट्टाछुट्टै कारबाहीको व्यवस्था गरिएको छ । मृत्यु भएको व्यक्तिको जग्गा हकवालाले नपाउँदै कब्जा गरेमा वा बालबालिका, होस ठेगानमा नभएको र ७५ वर्षमाथिको व्यक्तिको जग्गा कब्जा गरेमा ३ वर्ष कैद र ३० हजार जरिवाना गरिएको छ । यसबाहेक अन्यखालका जग्गा कब्जा गरेमा भने १ वर्ष कैद र १० हजार जरिवाना तोकिएको छ ।

कुनै कर्मचारी वा प्रतिनिधिले संस्थाको सम्पत्ति बेइमानीपूर्वक आफ्नो हितमा प्रयोग गरेमा वा अरु कसैलाई दिएमा ५ वर्ष कैद र ५० हजार जरिवानाको व्यवस्था गरिएको छ । कर्मचारी वा बाहेक अन्यले कसैको सम्पत्ति बेइमानीपूर्वक आफ्नो हितमा प्रयोग वा अरु कसैलाई दिएमा ३ वर्ष कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ । भदौ १ देखि चन्दा उठाउनेलाई भने ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ । मुलुकी अपराध संहितामा चन्दा लिनेलाई विभिन्न तीन थरीको कारबाही हुने उल्लेख गरिएको छ । ज्यान लिने, अंगभंग गर्ने, वा गम्भीर चोट र्पुयाउने डर त्रास देखाएर चन्दा लिए ७ वर्षसम्म कैद र ७० हजार जरिवाना तोकिएको छ । चन्दा उठाउनेले पीडितलाई क्षतिपूर्ति समेत दिनु पर्ने प्रावधान राखिएको छ । विगो खुलेकोमा बिगो बराबर र नखुलेमा मनासिव रकम क्षतिपूर्ति दिनुपर्ने ऐनमा उल्लेख छ ।

नयाँ मुलुकी ऐनमा भएका अधिकांश व्यवस्था प्रशसायोग्य भएपनि यसको कार्यान्व्यन कति इमान्दारीतापूर्वक हुन्छ भन्ने कुराले यसको प्रभावकारीता झल्किने छ ।

सम्बन्धित समाचार :



प्रतिक्रिया दिनुहोस्