Logo

पयर्टन मन्त्री अधिकारीले किन गरे यस्तो गुनासो ?



भदौ २, काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले मुलुकभरका विमानस्थल व्यवस्थापनमा सुधार गर्दा पनि आलोचना गरिएको भन्दै गुनासो गरेका छन् ।

शनिबार राजधानीमा आयोजित फाष्टफुड एसोसिएसन नेपालको छैठौ अधिवेशनलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले बिमानस्थलको सुधारको काम वर्तमान सरकारले गरेको भन्दै आलोचनाको औचित्य नै नभएको बताए । मुलुकको बिकासमा सन्तुष्टी नहुनेले नै सरकारले गरेका राम्रा कामको विरोध र आलोचना गरेको उनको भनाई छ । त्यस्तै मन्त्री अधिकारीले विमानस्थल व्यवस्थापन नभएसम्म नेपालको पर्यटन क्षेत्रले गति लिन नसक्ने बताए ।

सरकारको पहिलो प्राथमिकता विमानस्थललाई व्यवस्थापन गर्ने रहेको उनको दावी छ । विश्वकै ध्यान अहिले पर्यटन क्षेत्रमा केन्द्रीत भएको भन्दै उनले पर्यटन क्षेत्रको विकासबाट मात्र नेपालको आर्थिक समृद्धि सम्भव हुने बताए ।

मन्त्री अधिकारीले आर्थिक समृद्धिका लागि २४ औं घण्टा काम गर्ने वातावरण सरकारले बनाउनेसमेत उल्लेख गरे । सम्बोधनका क्रममा मन्त्री अधिकारीले विकाससम्बन्धी सोचमा परिवर्तन गर्नुपर्ने बताएका थिए । विकासका लागि मुलुकका सबै गतिविधिलाई चौबिसै घण्टा संञ्चालनमा ल्याईनुपर्ने उनको तर्क थियो ।

मन्त्री अधिकारीले उद्योग, कल कारखाना, होटल तथा महत्वपुर्ण शहरहरुलाई चौबिसै घण्टा संञ्चालनमा ल्याउन सके मुलुकले विकासको फड्को मार्ने बताए । आफुले नयाँ सोचका साथ पर्यटन क्षेत्रलाई विकासको गतिमा अघि बढाउने उनको दाबी छ ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान र्पुयाउने व्यक्तिलाई सम्मान गरिएको थियो । मन्त्री अधिकारीले नेपालको फाष्टफुड संसारकै सर्वोत्कृष्ट फास्टफुड बनाउन व्यवसायीलाई सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot