काठमाडौं ४ भदौ । कांग्रेसको विधानअनुसार महाधिवेशन भएको दुई महिनाभित्र सबै विभाग गठन भइसक्नुपर्छ । तर, १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापति चुनिएको साढे दुई वर्षसम्म पार्टीका ४२ वटै विभाग रिक्त छन् । पार्टीलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विभाग र समिति निष्क्रिय छन् ।
विभाग नबन्दा पार्टीका केन्द्रीय सदस्यसमेत जिम्मेवारीविहीन जस्ता छन् । विभागका संयोजक केन्द्रीय सदस्य हुने व्यवस्था छ । एउटा विभागमा २१ सदस्य हुन्छन् । सबै विभाग र समितिलाई पूर्ण गराउँदा ९ सय जना मनोनीत हुन्छन् । ती मनोनयन नहुँदा एकातिर नेता तथा कार्यकर्ता दायित्वविहीन बनेका र अर्कोतिर संगठन ‘तदर्थवाद’ मा अघि बढेको नेताहरू बताउँछन् । एउटा विभागमा २१ सदस्य हुन्छन् । सबै विभाग र समितिलाई पूर्ण गराउँदा ९ सय जना मनोनीत हुन्छन् ।
साढे दुई वर्ष बित्दा पनि विभाग र समिति कन सक्रिय हुन सकेनन् त ? यसको मुख्य कारण सभापति देउवाको कार्यशैली र पार्टीभित्रको आन्तरिक विभाजनलाई मान्ने गरिएको छ । सभापति चुनिएदेखि नै देउवा पार्टी संगठनभन्दा बढी सत्ता राजनीतिमा केन्द्रित भए ।
सत्ताको अंकगणितमा उनले बढी रुचि राखे । संविधान जारी भएपछि बनेको केपी ओली नेतृत्वको सरकार विस्थापित गर्न उनले निकै मिहिनेत गरे । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउन पनि सक्रिय रहे । दाहालपछि कांग्रेस(माओवादी गठबन्धनबाट उनी आफैं प्रधानमन्त्री बने । यो पूरै समयभर उनले सरकारमै ध्यान केन्द्रित गरे । पार्टी संगठनका मुद्दामा हातै हालेनन् ।
आफूअघिका सभापति सुशील कोइरालाले पनि लामो समयसम्म विभाग गठन नगरेको भन्दै उनी पन्छिन थाले । सरकारको नेतृत्व लिएपछि सब ठीक हुन्छ भन्ने मानसिकतामा उनी देखिए । देउवानिकट एक नेता भन्छन्, ‘उनलाई पार्टी संगठनभन्दा सत्ता राजनीतिमै बढी रुचि छ । सत्ता भएपछि सबथोक भइहाल्छ भन्ने मानिसकताले पार्टी संगठन अघि बढ्न सकेन र निर्वाचनमा हामी हार्न पुग्यौं ।’
सुशील कोइरालाले पनि आफ्नो कार्यकालको अन्त्यतिर मात्रै विभाग गठन गरेका थिए । जसबाट असन्तुष्ट देउवाले आफ्नो पक्षका नेताहरूलाई संयोजकबाट राजीनामा गर्न लगाएका थिए । केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानसहित केहीबाहेक विभाग र समिति त्यतिबेला पनि निष्क्रिय रहे ।
यसरी हेर्दा कांग्रेसका महत्त्वपूर्ण मानिने विभागले ८ वर्षदेखि राम्ररी काम गरेका छैनन् । समयमै विभाग गठन गर्न नसकेको भन्दै देउवाले कोइरालालाई निर्णय क्षमता नभएको नेताका रूपमा टिप्पणी गरेका थिए । अहिले त्यही टिप्पणी उनीतिर फर्किएको छ ।
केन्द्रीय सदस्य भएर पनि आफूहरूले जिम्मेवारी नपाएको धनराज गुरुङ बताउँछन् । ‘पार्टीका हातखुट्टा भनेकै विभाग हुन् । विभाग गठन नहुँदा हातखुट्टा नभएजस्तो भएको छ,’ उनले भने, ‘हामीले केन्द्रीय समिति बैठकमा उपस्थित हुनेबाहेक केही काम पाइएको छैन । अरू कार्यकर्ताको हालत के होला ?’
अर्को समस्या भागबण्डा
देउवाले विभाग र समिति गठन गर्न नसक्नुमा पार्टीभित्रको भागबण्डा अर्को कारण हो । सभापति बन्नुअघि देउवाले नै पार्टीभित्र ६० र ४० प्रतिशतको भागबण्डालाई संस्थागत गराएका थिए । अहिले भागबन्डाको त्यही अनुपातले उनलाई समस्या परेको छ । अहिले कांग्रेस पार्टी देउवा पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबीचको भागबण्डामा सञ्चालित छ ।
भागबण्डा मिल्दा विधानविपरीतका काम पनि सभापति देउवाले गरे/गराए । संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको गठन यसको उदाहरण हो । पछि कुरा नमिलेकै कारण यी समिति विघटन गर्न देउवा बाध्य भए ।
देउवामा अझै पनि पार्टी र सरकारको नेतृत्व गर्ने चाहना जीवित छ । त्यही चाहनालाई केन्द्रमा राखेर उनले पार्टी हाँक्दै आएका छन् । संस्थापन इतरपक्षलाई सन्तुलनमा राख्दै आफ्नै समूहका नेताको व्यवस्थापन गर्नुपर्ने पछिल्लो चुनौती उनमा छ । कान्तिपुरबाट