Logo

राष्ट्रियसभामा सरकारको आलोचना र ध्यानाकर्षण



भदौ ४, काठमाण्डौ । राष्ट्रियसभाको सोमबार बसेको बैठकको विशेष समयमा सदस्यहरुले मुलुकका विभिन्न स्थानमा बर्षासंगैको बाढी पहिरोका कारण ठूलो धनमालको क्षति हुनुको साथै केहीले ज्यान गुमाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

तत्काल सुरक्षित बसोबासको व्यवस्था मिलाउन उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रियसभा सदस्य बद्री प्रसाद पाण्डेले बाजुरा जिल्ला विभिन्न स्थानमा बाढी र पहिरोका कारण केहीको मृत्यु भएको र कयौ परिवार विस्थापित भएको भन्दै पीडितलाई राहत र विस्थापितको पुनस्र्थापनामा सरोकारवाला निकायले चासो नदिएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

प्रदेश, संघ र स्थाीयतहबीच समन्वय हुन नसक्दा पीडीतले राहत नपाएको र विस्थापितहरुलाई सुरक्षित आवासको व्यवस्था मिलाउन नसकिएको भन्दै सरोकारित निकायबीच समन्वय गर्न आग्रह गरे ।

राष्ट्रियसभा सदस्य सिंह बहादुर विश्वकर्माले सिन्धुपाल्चोकको बाह्रबिसेस्थित साँधीखोला पुल बाढीले बगाउँदा नजिकका गाउको सम्पर्क विच्छेद भएको भन्दै सो स्थानमा तुरुन्तै बेलिब्रिज पुल निर्माणका लागि सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रियसभा सदस्य युटोल तामाङ्गले मुगुको आईतबार किमनी गाउमा भीषण आगलागी भएको भन्दै पीडीतलाई तत्काल राहतको व्यवस्था गर्न माग गरे ।
यस्तै रमेशजंग रायमाझीले खेती लगाउने समयमा तराईका किसानले युरिया, डिए पी लगायत मल उपलब्ध नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए । किसानलाई सहज सिंचाई र ऋणको व्यवस्था मिलाउन पनि उनले आग्रह गरे ।

त्यसैगरी, खेमराज नेपालीले मोरङ्ग जिल्लाको लेटाङ्गस्थित एक स्कुलको पानी ट्यांकीमा विषाधी मिसाउने अपराधीलाई तुरुन्तै पत्ता लगाई हदै सम्मको कारवाही गर्न माग गरे ।



प्रतिक्रिया दिनुहोस्