Logo

एसियाड फुटबलः १८ खेलमा नेपालले खायो ७० गोल !



काठमाडौं, ५ भदौ । एसियन खेलकुद प्रतियोगिताअन्तर्गत फुटबलमा नेपाल पुनः एकपटक खराब इतिहासलाई निरन्तरता दिन बाध्य भएको छ । एसियाली खेलकुद प्रतियोगिता एसियाडमा पाकिस्तानविरुद्ध पहिलो जित निकाल्ने सुन्दर मौका गुमाएसँगै नेपालले एसियाड फुटबलमा १८ खेलमा ७० गोल खान पुगेको छ । समूह डीको अन्तिम खेलमा नेपाल आइतबार पाकिस्तानसँग २–१ ले पराजित भयो ।

४० स्थानपछिको टिमसँग पराजित

घरेलु फुटबल विकासका कारण फिफाले पाकिस्तानमाथि प्रतिबन्ध लगाएको थियो । ३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तान अहिले फिफा वरीयताको पुछारमा छ । फिफा वरीयतामा पाकिस्तान २ सय १औँ स्थानमा छ भने नेपाल १ सय ६१औँ स्थानमा छ ।

आफूभन्दा ४० स्थान तल र लामो समयपछि फुटबलमा फर्किएको पाकिस्तानविरुद्ध नेपाली खेलाडीले आफ्नो स्तरअनुसार खेल्न सकेनन् । परिणामस्वरूप नेपाल अघिल्ला संस्करणमा जस्तै समूह चरणबाटै बाहिरियो ।

अग्रता जोगाउन असफल

पाट्रिओट चन्द्रावाग रंगशालामा खेलको ११औँ मिनेटमा लिएको अग्रता नेपाली खेलाडीले रक्षा गर्न सकेनन् । पहिलो हाफमा नेपालले पाकिस्तानमाथि दबाब राखेको थियो । यसक्रममा नेपालले कम्तीमा २ गोल अवसर गुमायो ।

इन्डोनेसियामा चर्चित नेपाली खेलाडी रोहित चन्दले पहिलो तथा दोस्रो हाफमा १–१ गोलको राम्रो अवसर गुमाएका थिए । यसैगरी, युवा स्ट्राइकर विमल घर्तीमगरले पनि सहज गोलको मौका चुकाए । तर, पाकिस्तानले दोस्रो हाफमा उत्कृष्ट खेल पस्किँदै सानदार पुनरागमन सम्भव बनायो ।

१८ खेलमा हार

नयाँदिल्ली एसियाडबाट नेपालले फुटबलमा सहभागिता जनाएको हो । अहिलेसम्म नेपालले एसियाडमा १८ खेल खेल्यो । नेपालले एक जित वा बराबरी नतिजा पनि निकाल्न सकेको छैन । नेपालले जकार्ता हालसम्म समग्रमा १८ खेलमा ७० गोल खाएको छ ।

अझै नेपाली खेलाडीबाट गोल भएन

पाकिस्तानविरुद्धको खेलमा एउटा रेकर्ड भने बन्यो । विपक्षी पोस्टमा गोल गर्न नसकेको ३६ वर्ष पुरानो रेकर्ड नेपालले तोड्यो । तर, नेपाली खेलाडीको नाममा भने गोल रहेन ।

पाकिस्तानका सहवाव युनासले खेलको ११औँ मिनेटमा आत्मघाती गोल गर्दा नेपालले एसियाड इतिहासमै पहिलोपटक विपक्षी टोलीविरुद्ध अग्रता लियो ।

आत्मघाती गोलमा अग्रता बनाए पनि नेपाली खेलाडीले विपक्षी पोस्टमा गोल गर्न नसकेको रेकर्ड यथावत् नै रह्यो । सन् १९८२ को नयाँदिल्ली एसियाडमा यामबहादुर घले ९वाइवी०ले कुवेतविरुद्ध गोल गरेका थिए । नयाँ पत्रिका



प्रतिक्रिया दिनुहोस्

Screenshot