Logo

प्रदेशको विकास र समृद्धिका लागि सरकार प्रतिवद्धः मुख्यमन्त्री पोख्रेल



दाङ, ६ भदौ /प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले प्रदेशको विकास र समृद्धिका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

घोराही उपमहानगरपालिका–१८ स्थित नमः छु बौद्ध गुम्बा परिसरमा निर्माण भएको ‘मनदिल पुन भ्यू टावर’को आज उद्घाटन गदै उहाँले पर्यटकीय क्षेत्रको विकास र विस्तारका लागि प्रदेश सरकार लागिपरेको बताउनुभयो ।

मुख्यमन्त्री पोख्रेलले टावर निर्माणले दाङको सुन्दरता र महत्व अझ बढेको उल्लेख गर्दै यसले दाङमा थप पर्यटकीय गन्तव्य थपिएको बताउनुभयो ।

प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले दाङको पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै दाङको सुकौरास्थित दङ्गिशरणलाई थारू सङ्ग्रहालय बनाउने योजना सरकारको छ भन्नुभयो ।

घोराही उपमहानगरपालिका–१८ का मनबहादुर पुन र उहाँकी श्रीमती दिलमाया पुनको नाममा उहाँका छोराहरुले रु ४५ लाखको लागतमा सो भ्यू टावर निर्माण गरिएको हो ।

जिल्लाकै पहिलो भनिएको उक्त भ्यू टावरमा एक पटकमा १५ जनाले चढ्न सकिन्छ । ५२ फिट उचाइ रहेको सो टावरमा चढ्नका लागि सर्वसाधारणलाई रु ५० तथा विद्यार्थीलाई रु ३० शुल्क निर्धारण गरिएको छ । टावर संरक्षणका लागि दुईजना कर्मचारी परिचालन गरिएको पनि जनाएको छ ।

सो अवसरमा मुख्यमन्त्री पोख्रेलले गुम्बा समिति र भ्यू टावर निर्माण गर्ने पुन परिवारलाई सम्मान पनि गर्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्