Logo

हामीले जनतामा भोक जगाइदिएका छौँ, अब पेट भरिदिन्छौँ : मातृका यादव



मातृका यादव, मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति

सरकार गठन भएको ६ महिना पूरा भएको छ । यस अवधिमा सरकारले दीर्घकालिन योजनाहरुको जग बसालिएको दाबी गरेको छ । तर जनताले अनुभूति गर्ने गरी काम नभएको भन्दै आलोचना भइरहेको छ । यसै विषयमा ऋषि धमलाले उद्योग, वाणिज्य तथा आपूर्ति मातृका यादवसँग कुराकानी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाई मन्त्री भएको ६ महिना भयो । केके राम्रो काम गर्नुभयो ?
मैले धेरै राम्रो काम गरेको छु । यो मन्त्रालय पहिला पुँजीपति र तस्करको मन्त्रालय हुने गर्दथ्यो । तर अहिले जनता, किसान, इमानदार उद्योगिहरुको साझा मन्त्रालय बनेको छ । अरु मन्त्रालयमा पनि विगतको भन्दा राम्रो काम भइरहेको छ । अहिलेको सरकार नै जनतालाई सेवा दिने कुरामा प्रतिवद्ध छ ।

जनताले अपेक्षा गरे जति काम गर्न त सकेको छैन नि सरकारले ?
यो सरकार आएर त रोड विग्रिएको होइन नि । यो खाल्डा, यो त सबै विगतको सरकारले बनाएको हो नि ।

तर तपाईहरुले अब त बनाउनुपर्यो नि ?
बनाइरहेका छौँ । दिन रात लगाएर खाल्डाहरु पुरिएका छन् । तर भन्नेवित्तिकै हुँदैन । पुरै वेथिती भएको ठाउँमा काम गर्न गाह्रो हुन्छ । छु मन्तर त हुँदैन नि । जनताको चाहना पूरा गर्ने प्रक्रिया सुरु गरिसकेका छौँ ।

त्यो प्रक्रिया कहिले पूरा होला ?
हामी त अहिले २०४६ सालदेखिका विकृति अन्त्य गर्ने अभियानमा छौँ । भ्रष्टाचार र ढिलासुस्ती हटाउँदैछौँ । कर्मचारीतन्त्रमा पनि सुधार गर्दैछौँ । नतिजा आउन त केही समय लाग्छ । रातारात कुनैपनि परिवर्तन हुँदैन ।

सरकारको आलोचना बढिरहेको छ । के भन्नुहुन्छ ?
जसले केही पनि काम गर्न सकेन, उसले हल्ला गरिरहेको छ । देशलाई यो हालतमा ल्याउने अनि अहिले आलोचना गने ? उनीहरुले सरकार चलाउँदा किन खाल्डा पुरिएन ?

तपाईहरुले अहिलेसम्म के गर्नुभयो र ?
हामीले जनतामा भोक जगाइदिएका छौँ । जनताले हामीलाई खबरदारी गर्नु सकारात्मक हो । तर विरोधीहरुले आफू असफल भएपछि अहिले हामीलाई असफल सावित गर्न खोजिरहेका छन् । तर तपाईहरु जे मन लाग्छ त्यही लेख्ने, बोल्ने गरिदिनुहुन्छ ।

त्यस्तो होइन, तपाईहरुले राम्रो काम गर्नुभयो भने हामी ठूला ठूला अक्षरमा लेख्न तयार छौँ । तर तपाईहरुले केही पनि काम नै गर्नुभएन नि ?
हामीले गरिरहेको काम तपाईहरुले हेर्नुभएकै छैन । अर्को कुरा, हामीले आज कतिवटा काम गर्यौँ, कतिवटा फाइनलमा हस्ताक्षर गर्यौँ भन्ने कुरा सार्वजनिक गरेका छैनौँ । जब जनताले अनुभूति गर्ने गरी नतिजा आउँछ त्यसपछि सबैले थाहा पाउनुहुनेछ ।

तपाईले मन्त्रीभएपछि भ्रष्टचारीलाई कारबाही गर्छु भन्नुभएको थियो । कालोबजारियाहरुलाई कारबाही गर्छु भन्नुभएको थियो । अहिलेसम्म कतिजनालाई कारबाही गर्नुभयो ?
गरेका छौँ । अहिलेसम्म कतिजनालाई कारबाही गरियो भन्ने कुरा रेकर्डमा छ । आउनस्, सबै विवरण दिन्छु ।

तपाई कालमाटी तरकारी बजारमा स्थलगत अनुगमनमा जानुभयो । अब के सुधार हुन्छ त ?
अब समस्या समाधान हुन्छ । एकदुई दिन जनतालाई कष्ट हुन सक्छ । तर दीर्घकालिन रुपमा समस्या समाधान हुन्छ । अब कालिमाटी बजार कुनै माफियाले चलाएर चल्दैन । केही दिनमा नै तपाईले नतिजा पाउनुहुन्छ ।

मन्त्री आफैँ फिल्डमा गएर एक्सन लिएर कहिलेसम्म चल्छ ? सिस्टम सुधार्नुपर्दैन ?
मैले पनि सोचेको थिएँ, मन्त्री नै किन जाने फिल्डमा भनेर । तर अब निरन्तर मन्त्री नै फिल्डमा जानुपर्ने देखियो । म मात्रै होइन, आवश्यकताअनुसार अरु मन्त्रीहरु पनि जानुहुन्छ ।

संघीयता कार्यान्वयका क्रममा कर र करको दायरा बढाइएको छ । यसले त संघीयता नै खतरामा पर्यो भन्ने टिप्पणी हुन थालेको छ नि ?
जथाभावी कर उठाउने काम बन्द भइसकेको छ । कहीँ कतै नबुझेर अनावश्यक कर लिन खोजिएको हो । तर जति हल्ला गरियो, त्यो अवस्था थिएन । कर त पहिलेदेखि नै लिने चलन थियो नि । अहिले सरकारलाई कमजोर बनाउनका लागि तपाईहरुले उजागर गर्नुभएको हो । तर दोहोरो, तेहोरो कर लिँदैनौँ ।



प्रतिक्रिया दिनुहोस्