Logo

अमेरिकी सहयोगबाट रोल्पाली विद्यार्थी लाभान्वित



रोल्पा । एक अमेरिकी नागरिकको छात्रवृत्ति सहयोगबाट वर्षेनी सयौं रोल्पाली विद्यार्थीले अध्ययन गरिरहेका छन् । अमेरिकी नागरिक डा अगस्त मोनलारले उपलब्ध गराउँदै आएको छात्रवृत्ति रकमबाट जिल्लामा हरेक वर्ष धेरै सङ्ख्यामा विद्यार्थी लाभान्वित भएका छन् ।

विसं २०३९ मा रोल्पाको थवाङमा विद्यावारिधिका लागि शोध अनुसन्धान गर्न आएकी मोनलारले २०६४ सालदेखि हरेक वर्ष छात्रवृित्त दिँदै आएका छन । जिल्लाका गरीब तथा जेहेन्दार विद्यार्थीका लागि टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानमार्फत छात्रवृत्ति हस्तान्तरण हँुदै आएको बताइएको छ । हरेक वर्ष जिल्लाका १०० बढी गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको विकास सरोकार समाज रोल्पाले जानकारी दिएको छ ।

छात्रवृत्तिका लागि हरेक वर्ष रु साढे पाँच लाख रकम वितरण हुने गरेको समाजका अध्यक्ष कर्ण वाँठाले बताए। प्राथमिक, मावि र उच्च शिक्षा गरी तीन तहमा छात्रवृत्ति उपलब्ध गराइएको छ । गरीबीको चपेटामा परेका जिल्लावासीको शैक्षिक सुधारमा छात्रवृत्तिले निकै सहयोग पुगेको अध्यक्ष वाँठाको भनाइ छ । उच्च शिक्षामा प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी छात्रवृत्ति वितरण गरिएको छ ।

वीर बलभद्र माध्यामिक विद्यालय थवाङलाई समेत डा मोनलारले सहयोग गरेको बताइएको छ । विद्यालयसँगै सोझै सम्झौता गरी छात्रवृत्ति तथा अन्य शीर्षकमा वार्षिक रु आठ लाख प्राप्त हुने गरेको वीर बलभद्र माविका प्रधानाध्यापक कुलबहादुर ओलीले जानकारी दिएका छन । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot