
भदौ १२, काठमाण्डौ । बहु चर्चित मेलम्ची खानेपानी आयोजना तथा अन्य खानेपानी कम्पनीले नेपाल गुणस्तर चिन्ह अनिवार्य रुपमा लिनु पर्ने भएको छ । काठमाडौं उपत्यकाका धारामा आउने पानी गुणस्तरहीन भएको भन्दै व्यापक गुनासो आएपछि पानीमा पनि गुणस्तर चिन्ह प्रदान गर्ने व्यवस्था मिलाउन खानेपानी मन्त्रालयलाई संसदीय समितिले निर्देशन दिएको हो ।
यस्तै समितिले तोकिएकै समयमा मेलम्चिको पानी काठमाडौंमा ल्याउने गरि काम गर्न पनि निर्देशन दिएको छ ।
काठमाडौं उपत्यकामा वितरण हुने धाराको पानी र जारहरु गुणस्तरहीन भएको विभिन्न अध्ययनहरुले देखाइरहेका बेला संसदीय समितिले गुणस्तर चिन्हको व्यवस्था गर्न निर्देशन दिएको हो । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधीसभा अन्तर्गतको बिकास तथा प्रविधीसमितिको बैठकले पानी जस्तो विषयमा हेलचेँक्राइ नगर्न आग्रह गर्दै गुणस्तर चिन्हको व्यबस्था गर्न निर्देशन दिएको हो ।
यस्तै समितिले मेलम्ची खानेपानी आयोजनाका विषयमा पनि गम्भिर चासो देखाएको छ । मेलम्चीको काम सक्ने निर्धारित मिति बारम्बार परिवर्तन हुँदा सम्बन्धित निकायको विश्वसनीयता तथा कार्यसम्पादन प्रति गम्भीर प्रश्न उठेको भन्दै समितिले सरकारको ध्यानाकर्षण समेत गराएको छ । बैठकमा समिति सदस्यहरुले बहु चर्चित मेलम्ची खानेपानी आयोजनाबाट पाउने आउने मिति पटक पटक सारिएको भन्दै आपत्ती जनाएका थिए । उनीहरुले चालू खानेपानीको योजनालाई सम्पन्न गर्न सरोकारवाला पक्ष गम्भीर नभएको बताएका थिए ।
बैठकमा खानेपानी मन्त्री बिना मगरले सन् २०३० सम्ममा सबै नगरिकहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउन वार्षिक १ खर्ब बजेट आवश्यक पर्ने तर अहिले ३४ अर्बमा काम गरिरहनु परेको गुनासो गरिन । बजेट अभावका कारण काम गर्न असहज भएको उनको भनाइ छ । उनले ढलको समस्याका कारण खानेपानीको पाईप व्यवस्थापनमा कठिनाई भएको धारणा राखिन् ।
समितिले स्वच्छ खानेपानी उपलब्ध गराउने सम्बन्धमा विद्यमान माग, पानीको स्रोतको पहिचान तथा वितरण प्रणालीका साथै दिर्घकालीन माग, स्रोतको प्रक्षेपण तथा त्यसका लागि आवश्यक पर्ने रणनीतिक कार्ययोजनाको बारेमा विस्तृत अध्ययन समेत नभएको भन्दै त्यतर्फ सचेत हुन मन्त्रालयलाई निर्देशन दिएको छ ।