Logo

कांग्रेस सांसदको प्रश्न– ओलीज्यू, ३३ किलो सुन खै ?



भदौ १२, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको काम प्रति तिव्र असन्तुष्टि जनाउदै जनताका लागि कुनै पनि कार्य आशाजनक नभएको टिप्पणी गरेको छ ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै काग्रेसका सांसद राधेश्याम अधिकारीले सरकारका गतिविधिले नागरिकमा आशाभन्दा पनि निराशा बढाएको आरोप लगाएका हुन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पादकहरुलाई निराशा बढाउने गरी समाचार सम्प्रेषण नगर्न गरेको आग्रहप्रति अधिकारीले आश्चर्य व्यक्त गरे ।

अधिकारीले लेलिन बिष्ट प्रकरणले अन्तराष्ट्रिय रुपमा गलत सन्देश गएको बताए । त्यस्तै उनले नेतृ विक्रमचन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई सर्वोच्चको आदेश विपरीत पटक पटक समातेको भन्दै आपत्ति जनाए । सांसद अधिकारीले वित्त आयोगलाई पूर्णता दिनुको साट्टो सरकारले औचित्य र हैसियत नभएको कार्यदल बनाएको दावी गरे । त्यस्तै उनले ३३ किलो सुनको प्रकरणको छानबिन कहाँ पुग्यो ? भनेर सरकारसँग जवाफ मागेका छन् ।

बैठकमा ‘बालबालिका सम्बन्धी विधेयक, २०७५’ पेश गरिएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस’ भन्ने प्रस्ताव बैठकले स्वीकृत गरेको थियो । बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘महालेखा परीक्षकको ५५ औँ वार्षिक प्रतिवेदन, २०७४’ पेश गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्