काठमाडौँ, १४ भदौ (रासस) : थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले बिम्स्टेक क्षेत्रमा आर्थिक विकासका लागि थाइल्याण्डले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।
बिम्स्टेक शिखर सम्मेलनमा उद्घाटन मन्तव्य दिँदै उहाँले आर्थिक उन्नयनमा सघाउन थाई अनुभव र नीति यस क्षेत्रको विकास योजनामा सहयोगी हुने बताउनुभयो ।
उहाँले यस क्षेत्रको सामाजिक असमानता अन्त्यमा आफ्नो देशले हासिल गरेको प्रगति सबैलाई सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
बिम्स्टेकका सहायताका १४ क्षेत्रलाई सङ्ख्यात्मकभन्दा गुणात्मकतामा जोड दिनुपर्ने बताउँदै उहाँले सदस्य राष्ट्रबीच सम्पर्क र सञ्जाल विस्तार, व्यापार तथा लगानी, जनस्तरको सम्पर्क अभिवृद्धि, सुरक्षा र विज्ञान तथा प्रविधिका क्षेत्रमा बिम्स्टेक केन्द्रित हुनुपर्ने कुरा आफ्नो १३ मिनेटको मन्तव्यमा बताउनुभयो ।
सम्मेलन उद्घाटनका अवसरमा श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पनि आफ्नो मातृभाषामा १४ मिनेट मन्तव्य दिनुभएको थियो ।