विराटनगर, १८ भदौ / मोरङको दुई गाउँपालिका जोड्ने पुल निर्माण कार्य शुरु भएको १७ वर्षसम्ममा पनि सम्पन्न हुन सकेको छैन । मोरङको ग्रामीण क्षेत्र ग्रामथान गाउँपालिका र बुढीगङ्गा गाउँपालिकाबीचमा पर्ने सिङ्गीया खोलामा पर्ने त्रिवेणी पुल २०५८ सालमा निर्माण शुरु गरिएको थियो ।
ग्रामथान गाउँपालिकाको तेतरीया–५ बाट बुढीगङ्गा हुँदै सुनसरीको दुहवी जोडिने उक्त महत्वपूर्ण बाटोमा पुल नबन्दा स्थानीय बासिन्दा झण्डै १५ किलोमिटर घुमाउरो बाटो प्रयोग गर्न बाध्य भएका छन् । विराटनगरका निर्माण व्यवसायी सुरेश खरेलले लिएको पुल निर्माणको ठेक्काअनुसार काम सम्पन्न गर्न स्थानीयले पटक/पटक दबाब दिए पनि अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन ।
तत्कालीन समयमा रु एक करोड २० लाखमा ठेक्का सम्झौता गरी पुल निर्माणको काम शुरु भएपनि ठेकेदारले बीचमै काम छाडेर हिँडेका छन् । पुल निर्माणका लागि ल्याएको सामग्री लुटपाट र चोरी भएकाले ठेकेदारले पुल निर्माणको काम सम्पन्न गर्न नसकेको बताइएको छ ।
ठेकेदार कम्पनीले विसं २०६०/६१ सालमा पुलको तीन वटा पिलर बनाएर प्रारम्भिक काम अघि बढाएको र अहिले पनि त्यसलाई प्रयोग गर्नसक्ने अवस्था कायम रहेको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले आज पुलको अवस्थाबारे स्थलगत निरीक्षण गर्दै यही आर्थिक वर्षमा पुरानो ठेक्का रद्द गरेर नयाँ बोलपत्र आह्वान गर्ने र आगामी दुई वर्षभित्र पुलको निर्माण कार्य सम्पन्न गरी पुलबाट आवातजावतको सुविधा स्थानीय जनतालाई उपलब्ध हुने विश्वास दिलाउनुभयो ।
उहाँले विगतमा दलका नेताहरुले जनताको सुविधा होइन, आफ्नो राजनीतिक लाभका लागि कार्य गर्दा विकासले गति लिन नसकेको बताउनुभयो ।
मन्त्री महासेठ, पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियत, सङ्घीय सांसद अमनलाल मोदी, प्रदेशसभा सदस्य बिजय विश्वास थारुले पुलको अवस्थाबारे अवगत गराउनुभएको थियो । (रासस)