Logo

कार्यसम्पादनका आधारमा मन्त्री नै हेरफेर गरिने



काठमाडौं २० भदौ । मन्त्रीको कार्यसम्पादनका आधारमा मन्त्री नै हेरफेर गरिने भएका छन् । कार्यसम्पादन कमजोर भएका मन्त्रीलाई हटाउने र नयाँ ल्याउने विषयमा नेपाल कम्युनिस्ट पार्टी भित्र छलफल सुरु भएको छ ।
दुई अध्यक्षले यसलाई नजिकबाट छलफल गरिरहेका छन् । नेकपाका अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताएका छन् । खुमलटारस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले मन्त्रीहरू हेरफेर हुन सक्ने बताएका हुन् । उनले आफ्नो–अर्को नभनी केही मन्त्रीको कामका आधारमा जिम्मेवारी हेरफेर हुन सक्ने बताए ।

‘मन्त्रीहरूको विषयमा केही न केही कदम चाल्नुपर्छ भन्ने नै छ । एउटा पक्षको छुँदा अर्को पक्षलाई नछुने भन्ने हुँदैन । जोसुकै पक्षको भए पनि कदम चाल्नुपर्छ भन्ने छ,’ प्रचण्डले भने, ‘सरकार र पार्टीलाई असफल बनाउने तथा जनतालाई निराश बनाउने अवस्था आएकाले केही न केही कदम चाल्छौँ ।’

कदम चाल्दा कसैले कसैलाई सिध्याउने नभई पार्टी, आन्दोलन र जनतालाई ध्यान दिएर निर्णय लिइने उनको भनाइ छ । आम जनतामा देखिएको निराशा मिडियामार्फत् पनि आएको बताउँदै प्रचण्डले सकारात्मक ढंगले समीक्षा गरिने बताए ।

‘सरकार र मन्त्रीहरूको विषयमा दुई अध्यक्षबीच गम्भीर छलफलसँगै समीक्षा गर्ने प्रक्रिया सुरु भएको छ,’ प्रचण्डले भने, ‘दुई अध्यक्षबीच एक–आपसमा शंकाका रूपमा हेरिन्छ भन्ने होला, तर पार्टी र सरकारका विषयमा एक–आपसमा गम्भीर छलफल भइरहेको छ ।’ सरकार र पार्टी एकताको विषयमा ठोस प्रस्ताव तयार गरी सचिवालयबाट अन्तिम रूप दिएर स्थायी कमिटीमा छलफलपछि निर्णय गराउने तयारी भएको पनि जानकारी दिए ।

भदौभित्रै एकता सक्ने
नयाँपत्रिकाका अनुसार पार्टी कमिटीदेखि जनवर्गीय संगठनको एकता भदौभित्रै गरिसक्ने प्रचण्डले बताए । भदौभित्र एकता गरी जनतामा प्रशिक्षण चलाएर एक ढिक्का बनाउँदै अगाडि लैजाने उनको भनाइ छ । विवाद भएर एकतामा ढिलाइ नभएको उनको दाबी छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले समय व्यवस्थापन गर्न नसक्दा एकता प्रक्रिया ढिला भएको स्पष्ट पारे ।

‘दुई अध्यक्षको समय मिलाउनै गाह्रो भएकाले एकता लम्बिएको हो । कहिले कसको समय नमिल्ने, कहिले कसको नमिल्ने हुँदा एकता लम्बिदै गयो । तर, धेरै ढिला पनि भएको छैन,’ प्रचण्डले भने, ‘एकताको विषयमा दुई अध्यक्ष बसेर छलफल गरी टुंगो लगाउँछौँ ।’
नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्