काठमाडौं २० भदौ । कांग्रेस र फोरम लोकतान्त्रिकबीच करिब एक वर्षअघि एकीकरण भए पनि केन्द्र, जिल्ला र गाउँ तहसम्म समायोजनले पूर्णता पाउन सकेको छैन । फोरमका अध्यक्ष विजयकुमार गच्छदारले संघीय निर्वाचनको डेढ महिनाअघि गत ३० असोजमा कांग्रेससँग पार्टी एकता गरेका थिए ।
१० वर्षअघि कांग्रेस छाडेर मधेसी जनआधिकार फोरम हुँदै फोरम लोकतान्त्रिकको नेतृत्वमा पुगेका गच्छदार पुनः कांग्रेसमा फर्किए पनि सन्तुष्ट हुन सकेका छैनन् । एकीकरणको एक वर्ष हुन लाग्दासम्म आफूसहित नेता कार्यकर्ताको व्यवस्थापन हुन नसकेकोमा उनी असन्तुष्ट छन् ।
संसदीय दलको उपनेता रहेका उनी केन्द्रीय समिति बैठकमा विशेष आमन्त्रित सदस्यका रूपमा सहभागी हुने गरेका छन् । तर, उनीसँगै कांग्रेसमा एकीकृत भएका जितेन्द्र देव, रामजनम चौधरीसहितका दर्जनौँ केन्द्रीय नेता, सयौँ जिल्ला र स्थानीय तहसम्मका नेता–कार्यकर्ता भूमिकाविहीन छन् ।
गच्छदारले यसरी दिएका थिए चेतावनी
गत २५ असारमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलसमेत सहभागी कार्यक्रममा आपूmसँगै आएका नेता कार्यकर्ताको बेवास्ता भएको भन्दै असन्तुष्टि जनाएका थिए । ‘पार्टी एकीकरण गर्नुअघि केपी ओलीदेखि प्रचण्डले अनेक अफर गरेका थिए । ती अफरलाई कुल्चेर प्रजातान्त्रिक व्यवस्थालाई आघात नपुगोस् भनेर कांग्रेससँग एकता गरेँ,’ गच्छदारले भनेका थिए, ‘पार्टी एकीकरण गर्दा छिट्टै नेता कार्यकर्ता व्यवस्थापन गर्न सभापति र नेताले वचन दिनुभएको थियो ।
तर, पूर्वदेखि महाकालीसम्मका कार्यकर्तालाई टुहुरो बनाएको हेरेर म कति दिन बस्ने ?’ पार्टीको यस्तै रवैया रहे आफूसँगै आएका नेता कार्यकर्ताको भेला गरेर एउटा निर्णयमा पुग्नुपर्ने चेतावनीसमेत उनले दिएका थिए । तर, त्यसयता सार्वजनिक कार्यक्रममा उनको असन्तुष्टि सुनिएको छैन । नयाँपत्रिकाबाट