काठमाडौँ, २० भदौ / महानगरीय प्रहरी परिसर काठमाडौँले साउन महिनामा उत्कृष्ट काम गर्ने १२ प्रहरीलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।
परिसरले उत्कृष्ट काम गर्ने प्रहरी जवानदेखि प्रहरी नायब उपरीक्षक सम्मलाई नगदसहित आज सम्मान गरेको हो । सोअनुसार महानगरीय प्रहरीवृत्त जनसेवा र लैनचौरका प्रहरी नायब उपरीक्षक टेकुनन्द इवालिम्बू र गौतमकुमार केसीलाई संयुक्तरुपमा रु ५० हजार, प्रहरी परिसर काठमाडौँ र वृत्त दरबारमार्गका प्रहरी निरीक्षक अनिलकुमार अधिकारी र जीतेन्द्र श्रेष्ठलाई संयुक्तरुपमा रु ३५ हजार, वृत्त लैनचौर र वृत्त दरबारमार्गका प्रहरी नायब निरीक्षक मीनबहादुर खड्का र पूर्णबहादुर कठायतलाई संयुक्तरुपमा रु २५ हजार प्रदान गरियो ।
यस्तै इलाका प्रहरी कार्यालय फर्पिङ र वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक सुरेन्द्रबहादुर बसेल र विश्वभुषण खड्कालाई संयुक्तरुपमा रु २० हजार, वृत्त दरबारमार्ग र प्रभाग साँखुका प्रहरी हवल्दार किशोरकुमार गोले र रुपबहादुर थापालाई संयुक्तरुपमा रु १५ हजार र वृत्त बालाजु र प्रभाग थलीका प्रहरी जवान कमलप्रसाद देवकोटा र जीवन श्रेष्ठलाई संयुक्तरुपमा रु १० हजार प्रदान गरियो ।
महानगरीय प्रहरी परिसर काठमाडौँले नेपाल बङ्गलादेश बैंकसँग गरेको सम्झौताबाट स्थापना गरिएको उक्त पुरस्कार काठमाडौँमा उत्कृष्ट काम गर्ने प्रहरी जवानदेखि प्रहरी नायब निरीक्षक सम्मलाई पुरस्कृत गरिँदै आएको छ ।
उक्त पुरस्कार परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामा र बैंकका कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले संयुक्तरुपमा वितरण गर्नुभएको थियो । (रासस)