Logo

देउवाविरुद्ध पौडेल आक्रमक, केसीको घरमा गोप्य भेला



काठमाडौं, २२ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सभापति शेरबहादुर देउवाविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका छन् ।

पछिल्लो समय सभापति देउवाले पेलेर अघि बढ्न थालेको गुनासो गर्दै आईरहेका नेता पौडेलले आज भने आफ्नो पक्षको गोप्य भेला आयोजना गरेका छन् ।

बालाजुस्थित् नेता अर्जुननरसिंह केसीको निवासमा आज पौडेल पक्षधर नेताहरुको आन्तरिक भेला सम्पन्न भएको स्रोतको दाबी छ । आफ्नो गुट बलियो बनाउन पौडेल आजबाट सक्रिय भएका छन् । आजको भेलामा नेता पौडेलसहित अर्जुननरसिंह, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा. रामशरणलगायतका नेताहरुको सहभागिता रहेको थियो । भेलामा अब कसरी अघि बढ्ने भन्नेबारे नेता पौडेलले आफ्नो भनाई राखेका थिए ।

आज राति प्रशारण हुनेगरि पत्रकार ऋषि धमलाले प्राईम टाईम्स टेलिभिजनको लागि लिएको अन्र्तवार्तामा कुरा गर्दै नेता पौडेलले आफूलाई सभापति देउवासँग सम्झौता गर्यो र मिल्यो भनेर बद्नाम गरिएको भन्दै गुनासो पोखे । उनले भने,‘मलाई बद्नाम गराउने उद्देश्यले सभापति देउवासँग पदको लागि सम्झौता गर्यो भनियो, तर यसमा कुनै सत्यता छैन ।’

फरक प्रसँगमा उनले समयमै महाधिवेशन सम्पन्न गर्नतिर आफू केन्द्रित भएको पनि सुनाए । उनले थपे,‘बेलैमा महाधिवेशन गर्नेगरि म अभियानमा लागेको छु । आउने महाधिवेशनसम्म पार्टीलाई सुधार्छु । सशक्त र प्रभावकारी पार्टी बनाउँछु ।’

उनले अहिलेको नेतृत्वले पार्टी हाँक्न नसक्नेसमेत ठोकुवा गरे । उनले भने,‘सभापतिले पार्टीलाई समयसापेक्ष बनाउन सक्दैनन् । उनका कमिकमजोरीहरु धेरै छन् । देउवा अहिले गुटको राजनीति गर्नमा व्यस्त छन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot