Logo

ऋषि धमलासँग प्रचण्डले भने : ओली, मोदीजी र मबीच केमेष्ट्री मिलेको छ



नयाँ दिल्ली, २३ भदौ । भारत भ्रमणमा रहेका सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सौहार्दपूर्ण कुराकानी भएको बताएका छन् ।

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको विशेष कुराकानीमा उनले यस्तो बताएका हुन् । कुराकानीको सुरुवातमै प्रचण्डले भने,‘मेरो, ओलीजी र मोदीजीको केमेष्ट्री मिलेको छ । भारतले नेपालको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको ।’

आफू र मोदीबीच एक घण्टा १५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको जानकारी दिँदै उनले भने,‘मोदीजीसँग बडो सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो । उहाँले नेपाल सरकारले लिएको स्थायित्व र विकासको एजेण्डामा भारतको पूर्ण समर्थन रहेको बताउनुभयो ।’

मोदी पहिलोपटक नेपाल भ्रमणमा जाँदा संसदमा सम्बोधन गर्दा प्रतिबद्धता जाहेर गरेको कुरा, भुकम्पपछिको पूर्ननिर्माणको लागि दाताहरुको सम्मेलनमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बोलेको कुरा, हालै भएको मोदीको तीन पटकको नेपाल भ्रमण्मा भएका सहमति तथा सम्झौताहरु पूर्ण रुपमा कार्यान्वयन गर्ने पनि मोदीले आफूसँगको भेटमा विश्वास दिलाएको प्रचण्डले धमलालाई सुनाए ।

ताप्लेजुङ्को पाथिभरा, बैतडीको त्रिपुरा सुन्दरी र मेलौली भगवति तथा डढेलधुराको उग्रतारा मन्दिरसम्म धार्मिक पर्यटनलाई बढावा दिनेबारेपनि प्रचण्ड–मोदीबीच कुराकानी भएको छ ।

निर्माणाधिन हुलाकी राजमार्गमा सक्दो सहयोग गर्ने र नेपालले भौतिक पूर्वाधारलगायत अन्य विकासमा कस्तो सहयोगको अपेपक्षा गर्छ त्यही अनुसार सहयोग गर्न भारत तयार रहेको मोदीले आफूसँग बताएको पनि प्रचण्डले जनाए ।

अध्यक्ष प्रचण्डले भारतीय गृहमन्त्री राजनाथ सिंहदेखि भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहसम्म भेट्दा भारत नेपालको विकासमा सँधै सहयोग गर्न तयार रहेको पाएको सुनाए ।

हालै काठमाडौंमा सम्पन्न भएको चौथो विमस्टेक शिखर सम्मेलनमा गरिएको संयुक्त सैन्य अभ्यासमा नेपालले भाग नलिनेबारे आफूलाई सोधेको पनि सुनाए  । उनले भने,‘तर मैले यसबारेमा मलाई अहिले एकिन जानकारी छैन भनें ।’

पछिल्लो ५ महिना यता भारत र नेपालका प्रधानमन्त्री दुवैले एक अर्काको देशको भ्रमण गरिसक्नुभएको अवस्थामा तपाई अहिले किन भारत आउनुभयो भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘नेपालमा बदलिएको राजनीतिक परिस्थिति छ । अहिले दुई कम्युनिष्ट पार्टीहरु एक भएका छन् ।’

फरक प्रसँगमा उनले मन्त्रिहरु हेफेर गर्ने वा नगर्ने विषयप्रति टिप्पणी गर्दै भने,‘प्रधानमन्त्रीले जे कुरा बोल्नुभएको छ, त्यही कुरा अािधकारिक हो । प्रधानमन्त्री र मबीच कुनै समस्या छैन् । प्रधानमन्त्रीले जे भन्नुभएको छ, मन्त्रीहरु हेरफेर गर्ने वा नगर्नेबारे लाईन प्रधानमन्त्रीकै हो ।’

आफू र प्रधानमन्त्री ओलीबीच एकदमै राम्रो सम्बन्ध रहेको पनि उनले जिकिर गरे । प्रचण्डले थपे,‘५ वर्षसम्म मिलेर यो सरकारलाई अघि बढाउँछौं । नेपालको विकास र समृद्धि यही सरकारले नै हाँसिल गर्छ । त्यही अनुसार अघि बढ्छ । प्रम परिवर्तन गर्ने कुरा नउचाल्नुहोस् । हामी मिलेर काम गरिरहेका छौं ।



प्रतिक्रिया दिनुहोस्

Screenshot