Logo

प्रचण्डसँग साँच्चिकै रिसाएका हुन त ओली ?, देखिए यस्ता संकेत !



काठमाडौं, २४ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले सम्बन्धमा दरार उत्पन्न भएको छ ।

भारत भ्रमणमा जानुअघि प्रचण्डले आफ्नै निवासमा सम्पादकहरुसँग मन्त्रीमण्डल हेरफेर हुनसक्ने बोलेका थिए । प्रचण्डको उक्त अभिव्यक्तिलाई लिएर मन्त्रीहरुसमेत सशंकित भएका थिए । सरकार गठन भएको यतिका महिना बितिसक्दा पनि मन्त्रीहरुले राम्रो ‘पफर्मेन्स’ देखाउन नसकेको प्रचण्डको गुनासो छ ।

तर, प्रचण्ड भारत भ्रमणमै रहेका बेला प्रधानमन्त्री ओलीले अहिले कोही पनि मन्त्रीहरु हेरफेर नहुने सार्वजनिक घोषणा नै गरे । प्रचण्डलाई साईजमा ल्याउनको लागि ओलीले यस्तो अभिव्यक्ति दिएको नेकपाकै एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

हालै काठमाडौंमा सम्पन्न चौथो विम्स्टेक शिखर सम्मेलनमा संयुक्त सैन्य अभ्यासका बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए । उक्त प्रस्तावबारे नेपालमा चौतर्फी विरोध भएको थियो । प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले संयुक्त सैन्य प्रस्तावमा आफूहरुले सहमति नगरेको जनाईसकेका छन् ।

तर, नेकपाकै अर्का अध्यक्ष प्रचण्डले भने संयुक्त सैन्य अभ्यासबारे कुनै विरोध जनाएका छैनन् । प्रचण्ड भारत भ्रमणमै रहेका बेला नेपालले संयुक्त सैन्य अभ्यासमा भाग नलिने सरकारको तर्फबाट आधिकारिक भनाई सार्वजनिक भएको छ । अध्यक्ष प्रचण्ड भारत भ्रमणमै रहेका बेला मोदीसँगको सम्बन्ध बिर्गानको लागि ओलीले यस्तो कदम चालेको हुनसक्ने स्रोतको दाबी छ ।

उता प्रचण्डले भने आफू र प्रधानमन्त्री ओलीबीच सुमधुर सम्बन्ध रहेको दाबी गरेका छन् । नयाँ दिल्लीमा पत्रकार ऋषि धमलसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन् । उनले भने,‘प्रधानमन्त्री र मबीच अहिले राम्रो सम्बन्ध छ । हामीले सहमतिमै सबै निर्णयहरु गर्दै आईरहेका छौं । मन्त्रिमण्डल हेरफेर गर्ने वा नगर्नेबारेपनि हामी सहमतिमै निर्णय गर्छौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot