Logo

गीति एलबमबाट पर्यटन प्रर्वद्धन गरिँदै



लमजुङ । पर्यटन प्रर्वद्धन गर्नका लागि पछिल्लो समय जिल्लाका विभिन्न पर्यटकीय गाउँलाई समेटेर गीति एलबम तयार गर्न थालिएको छ ।

गीति एलबममा गाउँको विविधतासँगै स्थानीय संस्कार, संस्कृति, भेषभुषा, प्राकृतिक सुन्दरता, धार्मिक आस्था, पुरातात्विक सम्पदालगायत कुरा समेटेर प्रचारप्रसार थालिएको छ । गीति एलबमले पर्यटक आगमन बढेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । गीति एलबमका कारण पर्यटक आकर्षित भएको सिउरुङ ग्रामीण पर्यटन विकास समितिका सचिव उमरबहादुर गुरुङले जानकारी गराए ।

“गीति एलबममा दृष्य देखेर स्थलगत अवलोकन गर्न आन्तरिक पर्यटक आउने गरेका छन्,” उनले बताएका छन । पछिल्लो समय गाउँगाउँमा गीति एलबम निर्माणले गति लिएको छ । “देश विदेशमा प्रचार–प्रसार गर्न अन्य माध्यमभन्दा गीति एलबम उपयुक्त माध्यम हो,” घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले भने । गीति एलबमका कारण स्थानीय कला संस्कृति जगेर्ना गर्न सहज भएको छ ।

पुरानो कला संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न र जोगाउन सजिलो भएको ताघ्रिङका पर्यटन व्यवसायी नरबहादुर गुरुङ बताउन्छन । “युवा दिनप्रतिदिन नयाँ–नयाँ कुराको खोजीमा हुन्छन्”, कलाकार विष्णु गुरुङले बताएका छन । गीति एलबम निर्माण हुन थालेपछि नृत्य तथा अभिनयतर्फ युवापुस्ताको आकर्षण बढेको छ । पर्यटन विकास मुलुकको समृद्धिको आधार भएकाले त्यसमा सरकारले लगानी गर्नुपर्ने लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेश थापा जनाउन्छन ।

विभिन्न गाउँको बारेमा गीत लेख्ने, त्यही गीतको आधारमा गीति एलबम निर्माण गर्ने तथा गाउँमा आएका पाहुनालाई स्थानीय गीतमै नाचेर स्वागत गर्ने चलन अहिले बढ्दै गएको छ । जिल्लाका घलेगाउँ, भुजुङ, ताघ्रिङ, पाचोक, नाल्मा, सिउरुङ, दुराडाँडा, समिभञ्ज्याङ, पुरानकोट, भोजे, मपिङ, बाहुनडाँडा भिरपुस्तुन, पसगाउँलगायत गाउँमा गीति एलबम निर्माण गरिँदैछ । अधिकांश गीति एलबम गुरुङ भाषामा तयार गरिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot