Logo

ओली–प्रचण्डबीच टकराव, सरकारको नेतृत्व आलोपालो गर्ने विवाद सुरु !



काठमाडौं, २५ भदौ । सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले सम्बन्धमा दरार उत्पन्न भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डको ‘मन्त्रीहरु हेरफेर’ गरिने भनेर बोलेको सार्वजनिक अभिव्यक्तिलाई खण्डन गरेपछि अहिले यी दुई अध्यक्षबीच तनाब उत्पन्न भएको बुझिएको छ ।

भारत उड्नुअघि अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल हेरफेर गर्नुपर्छ भनेर आफ्नो निजी निवासमा पत्रकारहरुसँग कुरा गर्दा नेकपाभित्र र मन्त्रीहरुबीच तनाब उत्पन्न भएको थियो । तर, प्रचण्ड भारत भ्रमणमै रहेका बेला प्रधानमन्त्री ओलीले प्रचण्डको भनाईलाई काउन्टर गरेर भनिदिए,‘अहिले कोहीपनि मन्त्रीहरु हेरफेर हुँदैनन् । सबै मन्त्रीहरुले राम्रो काम गरेका छन् ।’

अध्यक्ष प्रचण्ड नेपाल–भारत सम्बन्ध राम्रो बनाउन लागिपरिरहेकै बेला ओलीले प्रचण्डलाई काउन्टर दिने अभिव्यक्ति दिएपछि नेकपाभित्र ठूलो भुकम्प गएको एक नेताले जानकारी दिए । ओलीले प्रचण्डलाई साईजमा ल्याउनको लगि नै नेपाल र चीनबीच नयाँ सम्झौता गरे । प्रचण्ड भारत भ्रमणमै रहेका बेला नेपाल र चीनबीच ऐतिहासिक व्यापार तथा पारवहन सम्झौताको प्रोटोकल (कार्यविधि) मा सहमति जुटेको थियो । यो सहमतिसँगै नेपालका लागि भारतबाहेकको भूमिबाट समुद्रसम्म पुग्ने बाटो खुलेको छ।

काठमाडौंमा दुई दिनसम्म चलेको दुई देशका अधिकारीहरूको बैठकले बिहीबार राति प्रोटोकलमा सहमति जुटाएको हो। सहमतिमा नेपाली पक्षबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजु र चिनियाँ पक्षबाट यातायात सेवा विभागका महानिर्देशक वाङ सुइपिङले हस्ताक्षर गरेका थिए । तत्काल चीनका ४ सामुद्रीक र ३ सुख्खा बन्दरगाह प्रयोग गरी सामान ल्याउने सक्ने सहमति भएपछि भारतपनि अहिले सशंकित बनेको छ ।

प्रचण्डले भारतीय नेताहरुसँग नेपाल–भारत द्धिपक्षीय हितका विषयमा छलफल गरिरहँदा नेपालले चीनसँग गरेको यस सम्झौताको विषयमा पनि एक किसिमको बहस भएको थियो ।

त्यस्तै हालै काठमाडौंमा सम्पन्न चौथो विम्स्टेक शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले विम्स्टेक शिखर सम्मेलनमा संयुक्त सैन्य अभ्यास गर्ने प्रस्ताव गरेका थिए । त्यही बेलामा नेपालले सहमति जनाउने संकेत देखाएको थियो । तर, प्रचण्ड भारत भ्रमणमै रहेका बेला प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संयुक्त सैन्य अभ्यासमा भाग नलिने स्पष्ट पारिदिए । ओलीको यो कदमलेपनि प्रचण्डलाई नै असर पुगेको नेकपाभित्र बहस भएको छ ।

हुन त प्रचण्ड अहिलेनै भारत भ्रमणमा किन गए भन्नेबारे नेकपाभित्र चर्चा तथा बहस सुरु भएको छ । नेपालका प्रधानमन्त्री ओलीले भारत भ्रमण गरेको र भारतीय प्रधानमन्त्री मोदीले पनि दुई पटक नेपाल भ्रमण गरेको अवस्थामा प्रचण्ड यतिवेला भारत जानुको कुनै अर्थ थिएन भन्ने तर्कपनि नेकपाका एकथरी नेताहरुले गर्न थालेका छन् ।

आवश्यकत्ता र औचित्य नै नभएको अवस्थामा प्रचण्ड भारतको समर्थन आफूलाई जुटाउनको लागि भारत गएको हुन सक्ने शंका ओलीले पालेको पनि स्रोतको दाबी छ । प्रचण्डको भारत भ्रमणप्रति ओलीको मनमा अझैपनि चिसो पसेको छ ।

यता प्रचण्डले पनि आफूले बोलेका कुराको प्रधानमन्त्रीले नै खण्डन गरेकोले कतै ओलीले आफूलाई असहयोग गर्ने त होईनन् भन्ने डर छ । दुवै नेताहरुले एक–अर्कालाई शंका गर्न थालेपछि अहिले यीनीहरुको सम्बन्धमा दरार उत्पन्न भएको बुझिएको छ ।

पार्टी एकता केन्द्रिय स्तरमा त भयो । तर, प्रदेश र स्थानीय तहमा अझैसम्मपनि हुन सकेको छैन् । यही विचमा प्रचण्ड फेरी चीन जाँदैछन् । तत्काल पार्टीका विभिन्न संगठनहरुबीच एकता प्रक्रिया अगाडि बढ्न नसक्ने स्पष्ट भएको छ ।

यता प्राईम टाईम्स टेलिभिजनबाट हिजो राति प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेकपाका नेता एवम् कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले भने दुई अध्यक्षबीच आलोपालो गरेर सरकार सञ्चालन गर्ने सहमति भएको जिकिर गरे । उनले भने,‘सरकार त अब आलोपालो नै चल्ने हो । ओली र प्रचण्डबीच समझदारी भएको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot