काठमाडौं, २७ भदौ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफू यही मंसिरमा विवाह बन्धनमा बाँधिने खुलासा गरेका छन् ।
प्राईम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राईले यस्तो खुलासा गरेका हुन् । उनले भने,‘राजनीतिमा लागेर देशको सेवा गर्दागर्दै मैले विवाह गर्ने सोच्नसम्मपनि सकिँन् । अब भने यही मंसिरमा विवाह गर्छु । मैले विवाह गर्ने निर्णय गरें ।’
आफूले अहिलेसम्म कोही स्त्रीसँगपनि प्रेम नगरेको राईको दाबी छ । उनले भने,‘अहिलेसम्म लभ गर्ने समय पाईन् । अब विवाह गर्दा म राजनीति बुझेकोसँगमात्रै विवाह गर्छु । मेरो पेशालाई बुझ्ने पात्रको खोजीमा छु ।’
आफू खानपिनको सौखिन भएको सुनाउँदै उनले भने,‘हो, म खानपिनमा धेरै ध्यान दिन्छु । हरेक विहान २ घण्टाजति शारिरिक व्यायाम गर्छु । मलाई खानामा साधारण दाल भात मनपर्छ । तर, म लोकल कुखुराको मासुको पारखी नै हुँ ।’
फरक प्रसँगमा उनले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दरार उत्पन्न गराउने तत्वहरु सक्रिय रहेको आरोप लगाए । उनले थपे,‘प्रधानमन्त्री ओली र प्रचण्डबीच दरार उत्पन्न गराउन खोजिएको छ । तर, उहाँहरुबीच जतिसुकै दरार उत्पन्न गराउन खोजेपनि ती तत्वहरु सफल हुनेछैनन् ।
मुख्यमन्त्री राईले प्रदेशका मुख्यमन्त्रीहरुलाई संविधानअनुसार अधिकार दिन केन्द्रीय सरकराले कन्छुस्याँई गर्न नहुने धारणा राखे । त्यस्तै उनले प्रधानमन्त्री ओलीलाई यतिवेला चौतर्फी रुपमा घेराबन्दी कस्ने काम भैरहेको पनि गुनासो पोखे ।