भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा कम्युनिस्ट आन्दोलन सफल भएको दाबि गरेका छन् ।
नेपालको पहिलो कम्युनिस्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयले भक्तपुरको खरिपाटीमा सञ्चालन गरिरहेको विश्वको कम्युनिस्ट इतिहास र वर्तमानका बारेमा भइरहेको प्रशिक्षणमा उनले कम्युनिस्ट नेतृत्वको सरकार सफल हुनुपर्ने बताएका छन् ।
नेता नेपालले भने,‘अहिले नेपालमा कम्युनिस्ट व्यवस्थाले नेकपा र देशलाई एउटा मौका दिएको छ यो मौकाको फाइदा नेपालले उठाउनुपर्छ, नेपालमा कम्युनिस्ट आन्दोलन सफल भयो, कम्युनिष्ट नेतृत्व सरकार पनि सफल हुनुपर्छ ।’
कम्युनिष्ट नेतृत्वको सरकारले मुलुक समृद्धि र विकासतिर लम्किरहेको बताउँदै उनले नेकपा नेतृत्वको सरकारले जनतासँग माछा र पानीको तथा नङ र मासुको जस्तो सम्बन्ध राखेर काम गर्नुपर्नेमा जोड दिए ।
दलले जनताको कुरा नबुझे जनता दलको पछि नलाग्ने बताउँदै उनले त्यसप्रति युवापुस्ता चनाखो हुनुपर्नेमा जोड दिएका छन् । शिक्षा, सिँचाइ, सडक, सीप, सरसफाइ र स्वास्थ्यको क्षेत्रमा विशेष काम गर्नुपर्ने भनाइ राख्दै उहाँले भ्रष्टाचारलाई शून्य सहनशीलतामा झार्ने बताए ।
नेता नेपालले देशमा राजनीतिक क्रान्ति पूरा भएकाले अब सामाजिक, आर्थिक र सांस्कृतिक क्रान्ति गर्नुपर्छ भन्दै यो जिम्मेवारी नेकपाको काँधमा आएको बताए ।
नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीलाई एकीकरण गरेर विश्व समुदायसमक्ष ऐतिहासिक कार्य गरेको चर्चा गर्दै नेता नेपालले यो एकतालाई दिगो बनाउन तल्लो तहसम्मको एकीकरण विधि र प्रक्रियालाई व्यवस्थित बनाए ।
रासस