अशोक घिमिरे : काठमाडौँ, २८ भदौ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं अनेरास्ववियू (क्रान्तिकारी)का पूर्वअध्यक्ष लेखनाथ न्यौपानेद्वारा लिखित ‘सङ्घर्षको इतिहास’ बजारमा आएको छ ।
न्यौपानेले यसअघि प्रकाशन गर्नुभएको अखिल ज्ञानः भाग–२ का रुपमा उक्त पुस्तक प्रकाशनमा आएको हो । पुस्तकमा विश्व कम्युनिष्ट आन्दोलन र नेपाल कम्युनिष्ट आन्दोलनका विभिन्न पक्ष र पाटोलाई लिपिबद्ध गरिएको छ ।
त्यस्तै तत्कालीन नेकपा (माओवादी)ले वर्गीय मुक्तिका लागि शुरु गरेका दशवर्षे जनयुद्धको समयका प्रमुख घटना विवरणलाई बुँदागत रुपमा समेटिएको छ । पुस्तकमा जनयुद्धको परिकल्पना, उठान र विकास तथा वैठानका विषयवस्तु वैचारिक, योजनागत र फौजी हमलाका दृष्टिकोणबाट पाठकले बुझ्न सक्नेछन् । राजनीतिमा लागेका तर भिन्न विचार बोकेका कार्यकर्ताले समेत पुस्तकको अध्ययनबाट ज्ञान हासिल गर्न सक्ने लेखक न्यौपानेले बताउनुभयो ।
पुस्तकलाई समाजवाद, राजीतिक अर्थशास्त्र, दर्शनशास्त्र र नेपाली विद्यार्थी आन्दोलन गरी चार भागमा विभक्त गरिएको छ । पुस्तकमा काल्पनिक समाजवाद, वैज्ञानिक समाजवाद, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन, विभिन्न देशका कम्युनिष्ट आन्दोलनहरु, नेपाली कम्युनिष्ट आन्दोलन, नेपाली जनयुद्ध, चुनावमा कम्युनिष्टहरु, एमाले र माओवादी एकता, नेता, नेतृत्व र कार्यकर्ता, राष्ट्रियता, नेपालको जनसङ्ख्या, नेपालको सिमाना, नेहरु सिद्धान्त, इतिहास, शक्ति, षडयन्त्र र हत्या तथा राज्यविरुद्धका विद्रोहका बारेमा व्याख्या गरिएको छ ।
यसैगरी दर्शनको उत्पत्ति र विकास, दर्शनशास्त्रका दुई विश्वदृष्टिकोण, दर्शनशास्त्रको आधारमूत प्रश्न, मार्सवादी दर्शन, द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त र ऐतिहासिक भौतिकवाद एवं विद्यार्थी आन्दोनमा देखिएको विभिन्न धारको पनि चर्चा गरिएको छ ।
लेखक न्यौपानेले युद्धकालमा भूमिगत कार्यकर्तालाई लक्षित गरेर प्रकाशन गरिएको ‘अखिल ज्ञान’ नामको पुस्तक अत्यधिकरुपमा रुचाइएको र अर्को भाग प्रकाशन गर्न आग्रह भएपछि पुस्तक प्रकाशन गरिएको बताउनुभयो ।
उहाँले पसिना बगाएर राम्रो हुने र पसिना नबगाई राम्रो खोज्ने पङ्क्तिबीच सङ्घर्षमा केन्द्रित रहेर सङ्घर्षको इतिहास सार्वजनिक भएको बताउनुभयो । राजनीतिक आन्दोलनमा लाग्ने आधारभूत र मध्ययम तहका कार्यकर्ताका लागि लक्षित गरेर पुस्तक तयार गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सङ्गठन कसरी गर्ने, जनताकाबीचमा पार्टीलाई कसरी लैजाने, सङ्घर्षका विभिन्न तरेली पार गरेर समाज विकास कसरी एकपछि अर्को चरणमा प्रवेश गर्छ भन्ने विषयलाई पुस्तकमा समेटिएको छ ।”
पुस्तक कम्युनिष्ट पार्टीको स्कूलिङको पाठ्यक्रमलाई आधार मानेर लेखिएको सन्दर्भ पुस्तकका रुपमा आएको उहाँको भनाइ छ । पुस्तकमा माक्र्सवादका तीन सङ्गठक अङ्ग दशर्न, अर्थशास्त्र र समाजवादका विषयलाई सेमटिएको छ । आधारभूत र मध्यम स्तरका कार्यकर्तालाई दर्शन भन्दा समाजवाद बढी आवश्यक हुने भएकाले पुस्तकमा समाजवादको पक्षलाई विस्तृत व्याख्या गरिएको उहाँले बताउनुभयो ।
सिद्धान्तलाई व्यवहारमा खोज्ने र निष्ठाको बाटो रोज्ने योद्धाका रुपमा परिचित न्यौपानेको यो दशौँ कृति हो । खरो लेखनलाई नियमित धर्म बनाउनुभएका न्यौपानेका ‘प्रतिबन्धित कलम’, ‘शैक्षिक हड्ताल’, अखिल ज्ञान’, ‘तिमी अमर भयौ’, ‘शिक्षा र राजनीति’, ‘चिठ्ठीमा जनयुद्ध’, ‘विद्यार्थी आन्दोलनमा बाइस वर्ष’, ‘शिक्षामा पुनसंरचनाको बहस’ र ‘कोमामा कोरस’ पुस्तक प्रकाशित भइसकेका छन् ।
कूल ४०२ पृष्ठको उक्त पुस्तकको आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमोजन गर्नुभएको हो । अनेरास्ववियू (क्रान्तिकारी)ले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य रु ४९९ रहेको छ । (रासस)
तस्विर : मुकुन्द कालिकोटे