Logo

‘निर्मला पन्तका हत्यारालाई कारबाही गर्न नसक्नु सरकारको कमजोरी हो’



-सुवासचन्द्र नेम्वाङ, नेता, नेकपा
सरकारको आलोचना बढिरहेको छ । निर्मला पन्तको हत्यारा पक्राउ गर्न नसक्दा आन्दोलन नै भइरहेको छ । सत्तारुढ दल र सरकार दबाबमा छ । अर्कोतिर आफ्नै पार्टीको सगठन एकता हुन सकेको छैन । यिनै विषयमा केन्द्रित रहेर ऋषि धमलाले नेकपाका नेता सुवास नेम्वाङसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

निर्मलाका हत्यारालाई सरकारले किन कारबाही गर्न सकेन ? सरकार किन मौन ?
सरकार मौन छ भन्नुभयो, तर सरकारका मन्त्रीले संसदमा बोलेका छन् । सरकारले जनताको माग अनुसार सबै प्रयास गरेको छ ।

तर सरकारले ठोस परिणाम निकाल्न सकेन नि ?
दुखद घटना भयो । हामी सबैले भत्र्सना गरिरहेका छौँ । तर टुङ्गोमा पुर्याउन सकेको छैन । यो चाँही ठीक भएन ।

सरकारले किन टुङ्गो लगाउन सकेन ?
यस्ता कुराहरु कहिलेकाँही हुन्छन् । लापरबाहीका कुरा उठेका छन् । सबै एकजुट भएर लाग्नुपर्छ । यो सन्दर्भमा प्रधानमन्त्री पनि असन्तुष्ट हुनुहुन्छ । गृहमन्त्रीले पनि कतिपय कमी कमाजोरी देखिए भन्नुभएको छ ।

सरकारले किन न्याय दिने गरी काम गर्न सकेन ?
यो ठीक होइन । अरु देशमा पनि यस्तो हुने गर्छ । तर अन्त हुन्छ भनेर नेपालमा पनि हुनुपर्छ भन्ने होइन । यो एकदम बेठिक भइरहेको छ । आजै भोली नै निर्मला पन्तका परिवारले न्याय पाउनुपर्छ । तर यस्ता घटनामा सबै प्रकारका राजनीतिबाट माथि उठ्नुपर्छ ।

सरकारको कमजोरी स्विकार गर्नुभयो । सरकारलाई के भन्नुहुन्छ ?
जतिसक्दो चाँडो न्याय दिलाउनुपर्छ ।

प्रधानमन्त्री केपी ओलीले सरकारमाथि हमला भयो, अरिङ्गालले जसरी प्रतिकार गर्नुपर्छ भनेर कार्यकर्तालाई उक्साउनुभयो । यसलाई कसरी लिनुहुन्छ ?
यो मान्छेको आ–आफ्नो प्रस्तुतिको कुरा हो । उहाँले भन्न खोज्नुभएको कुरा के हो भन्दा कतिपय राम्रा कुरा गर्दा गर्दै पनि केही कमजोरी देखिएका छन् । तर राम्रा कुरालाई जनतासम्म पुर्याउन सकेका छैनौँ । यही कुरालाई जनतासम्म पुर्याउनुर्प है भनेर कार्यकर्तालाई सुझाब दिनुभएको हो । सरकारलाई बलियो बनाउनुपर्छ भन्ने प्रधानमन्त्रीको आशय हो ।

तर सरकारले राम्रो काम गर्न त सकेको छैन नि ?
यो देशमा भूकम्पले अस्तव्यस्त भएका बेला नाकाबन्दी लागेको हो कि होइन ? छिमेकी भारतसँगको सम्बन्ध बिग्रेर के भयो ? अहिले भारतसँगको सम्बन्ध राम्रो भयो कि भएन ?

भारतसँगको सम्बन्ध त पुष्पकमल दाहाल र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नै राम्रो भएको थियो नि ?
म यसमा धेरै विवाद गर्न चाहन्न । केपी ओली नै त्यो प्रधानमन्त्री हो, जसले नाकाबन्दी नहटेसम्म म भारत जान्न भनेका थिए । भारतले ओलीकै पालामा नाकाबन्द हटाएको हो । अहिले भारतसँगको सम्बन्ध सारै सुमधुर भएको छ । नेपालसँगको सम्बन्ध राम्रो बनाउन भारत र चीनबीच प्रतिस्पर्धा नै भएको छ । भारत र चीन दुवैतिरका बन्दरगाहमा नेपाल पुग्न सक्ने भएको छ । यो चानचुने कुरा हो र ?

नेकपाका नेताहरु लर्को लागेर चीन गइरहेका छन् । किन ?
संयोग परेको होला । चिनमा भइरहेका विभिन्न कार्यक्रममा सहभागि हुन नेताहरु गएका हुन् । यसलाई अन्यथा लिनु हुँदैन । हाम्रा नेताहरु चिनमा मात्रै होइन । अरु देशमा पनि गएका छन् ।

देशमा धेरै समस्या छन्, यस्तो अवस्थामा किन नेताहरु विदेश भ्रमणमा जानुपर्यो ?
विभिन्न देशहरुले नेताहरुलाई आमन्त्रण गर्नुको अर्थ ति देशहरुसँग नेपालको सम्बन्ध राम्रो हुनु हो । तर देशको सन्दर्भलाई ध्यानमा राखेर विदेश यात्रा व्यवस्थित गर्नुपर्छ । जुन पायो त्यही कार्यक्रममा जानु हुँदैन ।

चिकित्सा र प्रेस क्षेत्रसँग जोडिएको ऐनको विरोध भइरहेको छ । यसको समाधान कसरी गर्न सकिन्छ ?
यो ऐन शेरबहादुर देउवा प्रधानमन्त्री हुँदै बनेको हो । ऐनमा हाम्रो पनि सहमति थियो । तर अहिले केपी ओली नेतृत्वको सरकारले ऐन ल्याएको आरोप लागेको छ । यो त ठीक भएन नि । यद्यपी समस्या हामी समाधान गर्छौँ । समाधानका लागि सरकार लागिरहेको छ । राष्ट्रियसभाबाट विधेयक पारित हुँदा चिकित्सकको समस्या समाधान हुन्छ । पत्रकारहरुले उठाएका कुरा पनि सम्बोधन हुन्छ ।

बामदेव गौतमलाई उपनिर्वाचनमा चुनाव लडाउने चर्चा छ । यो सत्य हो ?
अहिलेसम्म औपचारिक रुपमा पार्टीभित्र यो विषयमा छलफल भएको छैन । तर संचारमाध्यममा यो छलफल भएको पाएको छु । उहाँ जस्तो व्यक्ति संसदमा आवश्यक छ भनेर कुरा उठ्नु अचम्मको कुरा होइन । तर कहाँ चुनाव लड्ने के गर्ने भन्ने छलफल भएको छैन । मेचीदेखि महाकालीसम्म जहाँ पनि चुनाव लड्न सक्नुहुन्छ ।

नेकपाको तल्लो तहसम्म एकता गर्ने प्रक्रिया कहिले टुङ्गो लाग्छ ?
केन्द्रमा बाहेक यो विषय टुङ्गिएको छैन । सबै नेता कार्यकर्ताले जिम्मेवारी नपाउनु कमजोरी हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot