निर्मलालाई न्याय दिलाउनका लागि रगतको खोलो बगाउन तयार छौँ : लक्ष्मी मल्ल
भदौ ३१, काठमाण्डौ । महिला अधिकारकर्मी लक्ष्मी मल्लले निर्मला पन्तको हत्यारा पक्राउ नपरेसम्म आन्दोलन नरोकिने बताएकी छिन् ।
पन्तको हत्यारालाई कारबाहीको माग गर्दै कञ्चनपुरबाट काठमाण्डौ आएकी मल्ले हत्यार पत्ता नलागेसम्म नफर्किने बताइन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उनले निर्मलालाई न्याय दिलाउनका लागि आफूहरु रगतको खोलो बगाउनसमेत तयार रहेको बताइन् ।
सरकारले हत्यारा पत्ता लगाउने आश्वासन दिएको २ महिना हुन लागेको उल्लेख गर्दै मल्लले यो अवधिमा सरकारले केही पनि काम गर्न नसकेको आरोप लगाइन् ।
“न्याय नपाएको हुनाले हामी काठमाण्डौ आएका हौँ । अहिले सरकार र गृहमन्त्रीप्रति विश्वास पनि छैन । त्यसैले आश्वासनका भरमा आन्दोलन रोकिदैन ।” मल्लले भनिन् ।
प्रधानमन्त्री केपी ओलीले सुरुदेखि नै आश्वासन दिए पनि चित्तबुझ्दो काम नगरेको मल्लको आरोप छ । न्यायका लागि काठमाण्डौ आएर प्रधानमन्त्रीसँग भेट्ने समय मागे पनि प्रधानमन्त्रीले वेवास्ता गरेको उनले बताइन् ।
“आज काठमाण्डौ आएको यति दिन भइसक्यो । हामीले समय मागिरहेका छौँ । तर प्रधानमन्त्रीले किन समय दिनुभएन । गृहमन्त्रीलाई भेट्यौँ, तर उहाँबाट धेरै अपेक्षा गरेका छैनौँ ।” मल्लले भनिन् ।