Logo

प्रचण्डले किन भेट्न सकेनन् चिनियाँ राष्ट्रपतिलाई ?



काठमाडौं, ३ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो चार दिने चीन भ्रमण सम्पन्न गरेर आज राति स्वदेश फर्कदैछन् । तर, उनी चिनियाँ राष्ट्रपति सि जिनपिङलाई नभेटी आज स्वदेश फर्कन लागेका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा ‘प्रचण्ड’ भदौ ३० गते चीनतर्फ प्रस्थान गरेका थिए । प्रचण्डले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार नै आफ्नो भ्रमणको प्रमुख ‘एजेण्डा’ रहेको बताएका थिए ।

यस्तै विगतमा दुई देशका सरकारका बीचमा भएको सहमति तथा सहकार्यका विविध विषयलाई कार्यान्वयनमा ल्याउनसमेत आफूहले पहल गर्ने उनले जानकारी दिएका थिए ।

काठमाडौंबाट चीन प्रस्थान गर्नुपुर्व उनी चिनियाँ राष्ट्रपतिलाई भेट्ने उनको सचिवालयले जनाएको थियो । तर, चिनियाँ राष्ट्रपतिको ‘व्यस्त सेड्युल’का कारण उनी जिनपिङलाई नभेटी स्वदेश फर्कदैछन् ।

पार्टी एकता भैसकेपछि प्रचण्डले पहिलो पटक भारतको भ्रमण गरेका थिए । भारत भ्रमणलगत्तै उनी चीन गएका हुन् । भारतमा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत अन्य प्रभावशाली नेताहरुसँग भेट गरेका थिए । तर, चीनमा भने उनले शीर्ष नेताहरुसँग भेट गर्न सकेनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot