Logo

खै, यो सरकारले रङ्ग–ढङ्ग केही पनि देखाएन, प्रधानमन्त्री ओलीमा शक्तिको उन्मात मात्रै देखिएको छ गगन थापा



प्रखर वक्ता, लोकप्रिय र राम्रो छवी बनाएका भनेर परिचित कांग्रेसका नेता गगन थापा अहिले प्रतिनिधीसभा सदस्य छन् । संसदमा उनले बेला बेलामा दिने अभिव्यक्ति चर्चामा छ । उनले सरकारमाथि आरोप र आफ्नै दलभित्र कटाक्ष गरिरहेका छन् । उनै थापासँग ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि अन्तरवार्ता लिएका छन् । थापासँगको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

गगन थापा, नेता, नेपाली काग्रेस

असोज ३ गते संविधान दिवस, तर प्रदेश नम्बर २ कै मुख्यमन्त्रीले दिवस मनाएनन् । यसलाई कसरी लिने ?
पहिलो कुरा संविधानप्रति भएका असन्तुष्टीलाई सम्हाल्न सक्छौँ भन्ने दृष्टीकोणल हेर्नुपर्छ । अहिलेको सरकारले मधेश केन्द्रित दलले भनेअनुसार संविधान संशोधन गर्छु भनेर सरकारमा समर्थन लियो । तर त्यसपछि भने एक कदम पनि अघि बढेन ।

संविधान संशोधन गर्नुपर्छ भन्ने तपाईको धारणा हो ?
संशोधन गर्नुपर्ने अन्तरवस्तुमा मैले धेरै समस्या देखेको छैन । मुख्य कुरा भावना हो । त्यो भावनालाई सम्मान गर्ने कुरामा ढिलो गर्नुहुँदैन ।

भावनालाई सम्मान गर्नमा कसकसको भूमिका आवश्यक छ ?
यसमा सरकार मात्रै होइन, नेपाली कांग्रेसको भूमिका पनि हुन्छ । राजनीतिक रुपमा यति धेरै उपलब्धि हासिल भइसक्यो । अब संविधान संशोधन चाहनेहरुको भावनालाई पनि जोड्ने काम गर्नुपर्छ ।

केपी ओली नेतृत्वको सरकारले काम गर्न सकेन भनेर कांग्रेसले आरोप लगाइरहेको छ । किन ?
जनताले यति धेरै परिवर्तनपछि मैले के पाएँ भन्ने त मनमा लाग्छ नि । संविधान बनेर संघीयता कार्यान्वयनमा गयो । दुई तिहाई बहुमतको सरकार छ । हामी प्रतिपक्षमा बसेर सहयोग गरेका छौँ । यस्तो अवस्थामा पनि जनतामा उत्साह छाउन सकेन ने कहिलेसम्म कुर्ने ? सरकारप्रति जनविश्वास घट्दै गएको छ ।

प्रधानमन्त्रीज्यूले सहयोग होइन,काम गर्न बाधा पुर्याउनुभयो भन्ने आरोप लगाउनुभएको छ नि ?
हामीले यो बेलामा मौलिक हकका विषयमा सबैभन्दा ठूलो प्रश्न उठाउनुपर्ने थियो । विधेयकहरु संसदमा ल्याउँदा हामीले संशोधन फिर्ता लिदैनाँै, छलफल गराउनुपर्छ, पुरै प्र िक्रयामा जानुपर्छ भनेको भए सरकार ठूलो अप्ठ्यारोमा पथ्र्यो । संविधान कार्यान्वयको पाटोमा हामीले पूर्ण सहयोग गरेका छौँ । तर सरकारले उल्लेखनीय काम गर्न सकेन ।

संघीयताकै कारण धेरै समस्या आयो भन्ने टिप्पणीहरु पनि हुन थालेका छन् । तपाईलाई कस्तो लाग्छ ?
संघीयतालाई दोष दिएर केही पनि हुँदैन । यसअघि पनि धेरै व्यवस्थालाई दोष दियौँ । व्यवस्था भनेको त चलाउने व्यक्तिमा भर पर्छ । अहिले प्रदेश सरकारले केन्द्र सरकरासँग गुनासो गरिरहेको छ । त्यो पनि केन्द्र सरकारका प्रधानमन्त्री र प्रदेश सरकारका मुख्यमन्त्री एउटै दलका छन् । त्यति मात्रै होइन, दलभित्र पनि एउटै गुटका छन् । यस्तो अवस्थामा त कुरा मिलेको छैन भने फरक दलको भएको भए के हुन्थ्यो होला ?

संघीय सरकार र प्रदेश सरकारमा के समस्या देख्नुहुन्छ ?
संघीय सरकारले प्रदेश सरकारलाई गरेको व्यवहार हेर्नुस्, यस्तो व्यवहारले त सघीयता चल्दैन नि । सम्हाल्न सकिएन भने त संघीयता अभिषाप पनि हुन सक्छ । मलाई के कुरामा डर लागेको छ भने, हामी काम गर्न सक्दैनौँ, एक दुई वर्षसम्म यस्ता अस्तव्यस्त रह्यो भने अनि संघीयताको विकल्प खोज्न थाल्छौँ । संघीयताका कारण समस्या आएको हो भनेर अर्को ५–७ वर्ष कहाँ खेर फाल्छौँ भने नेपाललाई संघीय बनाएर गल्ती गरिएछ, संघीय नभएको भए नेपाल चल्थ्यो भन्न थाल्छौँ । किनकी हामीलाई हरेकपटक असफलता ढाकछोप गर्न कारण खोज्छौँ ।

केपी ओली नेतृत्वको सरकारले संघीयता सफल बनाउँछ भन्ने विश्वास छैन ?
खै, यो सरकारले रङ्ग ढङ्ग केही पनि देखाएन । अहिलेको नेतृत्वमा नियतको होइन, क्षमताकै समस्या देखिएको छ । प्रधानमन्त्रीले दुई तिहाई बहुमतको समर्थनलाई प्रयोग गरेर, जनताको आकांक्षालाई पनि शक्तिको रुपमा लिएर देशलाई नयाँ अवस्थामा पुर्याउने मौकाबाट द्रुत गतिमा प्रधानमन्त्री चुकिरहनुभएको छ ।

यो त तपाईहरुले असहयोग गरेकाले हो भनेर प्रधानमन्त्रीले भनिसक्नुभयो नि । अरिङ्गाल बनेर प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन पनि दिनुभएको छ ?
मैले प्रधानमन्त्रीलाई सुरुमै संसदमा एउटा कुरा सम्झाएको थिएँ, तपाईको बोल्ने तरिका सुधार्नुस् । पहिला एमालेको अध्यक्ष हुनुहुन्थ्यो, प्रधानमन्त्री, प्रधानमन्त्री भनेको सबैको हो, त्यसैले जे पायो त्यही नबोल्नुस् भनेको थिएँ । तर उहाँले त आफू प्रधानमन्त्री हुँ भन्ने कुरा नै अनुभूति गर्न सक्नुभएको छैन । शक्तिको उन्मात मात्रै देखिएको छ । उहाँ त अहिले पनि पार्टीको एउटा गुटको नेताको हसियतमा हुनुहुन्छ । प्रधानमन्त्री ओलीप्रति उहाँकै दलका सांसदहरु पनि सन्तुष्ट छैनन् । मैले संसदमा बोलेर बाहिर निस्किएपछि नेकपाकै सांसद साथीहरुले ठिक कुरा उठाउनुभयो भन्नुहुन्छ । उहाँहरु पनि छटपटिनुभको छ, तर संसदमा बोल्न सक्नुहुन्न । बाहिर आएर हामीसँग सासले कुरा गर्नुहुन्छ ।

शेरबहादुर देउवा र रामचन्द्रबीच सहकार्यको प्रयास भइरेको चर्चा छ । कांग्रेसको नेतृत्वको विषयमा तपाईको धारणा के छ ?
दुई जना नेताको आफ्नै व्यक्तिगत स्वार्थ सुरक्षित गर्नका निम्ती सहकार्य हुने हो भने त्यसको कुनै अर्थ छैन । पार्टीको सर्वोपरी हित हुने गरी मिलेर अगाडि बढ्नुहुन्छ भने त कुनै आपत्ति छैन नि । यो त राम्रो कुरा हो । तर म के भन्छु भने अबको महाधिवेशनबाट दुवै नेताले विश्राम गर्नुपर्छ, त्यसका लागि उहाँहरुलाई शक्ति मिलोस् । उहाँहरु अब पार्टीको अभिभावक भएर बस्नुपर्छ । यसो गर्नुभएन भने पार्टी र उहाँहरु दुवै जनाको अहित हुन्छ ।



प्रतिक्रिया दिनुहोस्