काठमाडौं, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफू पत्रकार ऋषि धमलाले निर्माण गरेको नेपाली कथानक चलचत्रि ‘अनुराग’ हेर्न हलमै जाने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । प्रवक्ता शर्माले नेपाली चलचित्रहरुलाई नेताहरुले पनि माया गर्नुपर्ने धारणा राखेका छन् ।
पत्रकार धमलाले नेपाली चलचित्रलाई कसरी माया गर्नुहुन्छ ? भनेर सोधेको प्रश्नमा उनले भने,‘पछिल्लो समय नेपाली चलचित्रको ट्रेण्ड बदलिएको छ । ‘स्टोरी’ राम्रा बनेका छन् । लुटले राम्रो प्रस्तुती दियो, त्यसपछि सायद, नाई नभन्नु ल का सिक्वेलहरु, वडा नम्बर ६, त्यसपछि छक्कापञ्जा, रामकहानी, सबै राम्रा मुभीहरु बेनका छन्।’
त्यस्तै उनले ऋषि धमलाको लगानीमा चलचित्र अनुराग बनेको र यसको प्रस्तुति राम्रो भएको प्रतिक्रिया प्रोमो हेरेपछि आएको पनि सुनाए । उनले अघि थपे,‘ऋषिजी तपाईपनि नेपाली फिल्मको एउटा अंशियार बन्नुभयो । यो खुशीको कुरा हो ।’
चलचित्रनै नहेरिकन प्रतिक्रिया दिनुभन्दापनि नेपाली चलचित्रलाई सबैले माया गर्नुपर्ने र यसको लागि हलमै गएर हेर्नपनि उनको सुझाव छ । उनले भने,‘हलमै गएर चलचित्र हेरौं, अनिमात्रै सुझाव र सल्लाह दिनुपर्छ ।’
यही असोज १२ गतेबाट देशैभरि एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र अनुरागलाई सफलताको लागि नेता शर्माले शुभकामना दिए । उनले भने,‘अनुरागलाई मेरो स्वागत र शुभकामना छ । झापाको गाउँनगरीमै म यो चलचित्र हेर्छु, हलमै गएर साथीहरुको बीचमा बसेर बकैता तृष्णा चलचित्र मन्दिर छ, हो त्यहीँ हेर्छु । गाउँका साथीहरुको बीचमा बसेर झापाको धुलाबारीमा तपाईको चलचित्र हेर्छु ।’