काठमाडौँ, ६ असोज / राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पत्रकारिता र प्रेस जगतले लोकतन्त्रको पक्षपोषणमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा गर्नुभएको छ ।
प्रेस काउन्सिल नेपालको ४९औँ वार्षिकोत्सव समारोहलाई आज राष्ट्रपति कार्यालयमा नै सम्बोधन गर्दै उहाँले लोकतन्त्रको सम्वद्र्धन र रक्षाका लागि प्रेस जगतले उल्लेखनीय योगदान गरेको बताउनुभयो ।
उहाँले शीघ्र सूचना सम्पेषण गर्ने चाहनामा गलत समाचार तथा सूचना सम्प्रेषण हुन सक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिन पत्रकार र सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो । ऐतिहासिक राजनीतिक परिवर्तनपछि मुलुक अहिले आर्थिक समृद्धितर्फ केन्द्रित रहेको उल्लेख गर्दै उहाँले राजनीतिक मतभेद अन्त्य भएको अवस्थामा आर्थिक विकास र जनताको जीवनस्तरको सुधार नै आजको प्रमुख दायित्व हो भन्नुभयो ।
उहाँले राज्यले अगाडि सारेका नीति तथा कार्यक्रमलाई मर्यादित भएर अगाडि बढाउन राज्यको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता क्षेत्रले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । इन्टरनेट र समाजिक सञ्जालको सदुपयोग गर्न आग्रह गर्दै राष्ट्रपतिले राष्ट्रले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेकाले त्यसलाई केन्द्रमा राखेर आफ्नो आचारसंहिता तथा मूल्य र मान्यतामा रहेर अग्रसर हुन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
मुलुकलाई सही दिशामा लैजान पत्रकारिता क्षेत्रको प्रमुख कर्तव्य रहेको भन्दै उहाँले गलत सूचना नजाओस् भनेर निरन्तर सजगता अपनाउनु पत्रकारिता क्षेत्रको पेशागत दायित्वसमेत रहेको र त्यसले पेशाको मर्यादा र सम्मानसमेत गर्ने उल्लेख गर्नुभयो ।(रासस)