काठमाडौं, ७ असोज । अख्तियार दुरुपयोग अनुशन्धान दुरुपयोग आयोगले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकार र नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई समात्ने तयारीमा रहेको खुलासा भएको छ । कंशकार र झा दुवैले पदीय दुरुपयोग गर्दै अर्बौं रुपैयाँ घोटालाा गरेको अभियोग लागेको छ ।
यस्तो छ कंशकारको भ्रष्टाचार काण्ड
कंशकारमाथि एअरबस ३३०—२०० सेरिजका २ थान ‘वाइड बडी’को खरिदमा आउने कमिशन र उत्पादक कम्पनीले दिने छुटमा ब्रम्हलुट मच्चाएको अभियोग छ । ‘वाईड बडी’ खरिदमा कंशकारले अर्बौ रुपैयाँ हिनामिना गरेको स्रोतको दाबी छ ।
कंशाकारले २०७४ चैत्र २० गते निगमले खरिद गर्न लागेका एअरबसको दुई ठूला विमानमा लाग्ने चार थान इञ्जिनको मर्मतसम्भारको ठेक्का यसको निर्माता रोल्सरोयसलाई डेढ दशकको लागि दिने घोषणा गरेसँगै यसप्रति प्रश्न उठाउन सुरु भएको थियो ।
नेपालको एकमात्रै राष्ट्रिय ध्वजावाहक संस्थाको प्रमुख व्यक्तिले यस्तो ब्रम्हलुट मच्चाईरहँदापनि वर्तमान सरकार, त्यो पनि ईतिहाँसकै शक्तिशाली सरकार मुकदर्शक बनेको भन्दै जनताले आलोचना समेत गर्न सुरु गरेका छन् ।
कंशकारले निगमको प्रमुख भएर पदीय जिम्मेवारी सम्हाल्नुभन्दापनि आर्थिक चलखेलमा आवद्ध हुनु शंकास्पद देखिएको छ । हालसालै महालेखापरीक्षकले विमान खरिदमा अनियमितता भएको दाबी गरेको छ । महालेखापरीक्षक टंकमणि शर्माले नेपाल वायुसेवा निगमका सञ्चालक समितिका पदाधिकारीसहित महाप्रबन्धक र उच्च अधिकृतलाई राखेर यसका बारेमा छलफल गरेका थिए । कंशकारमाथि वाईड बडी खरिदमा ६ अर्बभन्दा बढि घोटाला गरेको आरोप छ।
झाको कुर्ततपनि उस्तै
त्यस्तै सरकारले यसअघि हटाएका नेपाल दुरसंचारका पूर्व अध्यक्ष दिगम्बर झा फेरि अध्यक्ष भएका छन् । उनको नियुक्तीको विषयमा अहिले विभिन्न टिकाटिप्पणी भैरहेको छ । दुरसंचार क्षेत्रको नियमक प्राधिकरणको अध्यक्ष छनौट गर्न बनेको समितिले सुचना आव्हान गरेपछि खुल्ला प्रतिस्पर्धामा झाले पनि आवेदन दिएका थिए । हालै बसेको मन्त्रिपरिषदको बैठकले उनलाई पूनः अध्यक्षमा नियुक्त गरेको थियो ।
केपी ओलीको नेतृत्वमा सरकार गठन भएसँगै संचार मन्त्रालयले झालाई अविश्वास गर्दै कुनै पनि काम अघि नबढाउन निर्देशन दिएको थियो। तर आँफैले हटाएको व्यक्तिलाई पूनः सोही पदमा ल्याउनु भनेको झाले ठूलो चलखेल गरेको अनुमान गर्न थालिएको छ । झाले एनसेललाई फोरजी दिने बेला अर्बौ रुपैयाँ घोटाला गरेको गम्भिर आरोप छ ।