असोज ७, काठमाण्डौ । नेपालीहरूको महान चाड दसैँ नजिकिँदै गएपछि सरकारले काठमाडौँ लगायतका मुख्य शहरहरूमा भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।
काठमाडौँ महानगरपालिकाले विशेष गरी राजधानी भित्रिने पशुपक्षीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिन लागेको जनाएको छ ।
महानगरपालिकाले राजधानी भित्रिने खसी, बोका, राँगा, भैंसी स्वस्थ छन् कि छैनन् भनेर परीक्षण गर्ने भएको छ । यसरी परीक्षण गरेका जनावरको सिङमा दुई प्रकारका रङ्ग लगाउने तयारी गरेको छ । महानगरपालिकाले हरियो चिन्ह लगाए स्वस्थ र रातो चिन्ह लगाए अस्वस्थ हुने भएकाले सोही अनुरूप खसी, बोका खरिद गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
महानगरपालिकाले मासु खाने प्रयोजनका लागि ल्याइएका चौपायाको दसैँ बाहेक अरू समयमा भने स्वास्थ्य परीक्षण गर्ने गरेको छैन । धेरै सङ्ख्यामा खसीबोकाको खरिद बिक्री हुने भएकाले दसैँमा राजधानी भित्रिने सबै खसीबोकाको स्वास्थ्य परीक्षण गरिन लागेको हो । महानगरका अनुसार कलङ्की, कोटेश्वर, बागबजार र बिजुली बजारस्थित खसीबोका बिक्री केन्द्रमा खसीबोकाको स्वास्थ्य परीक्षण हुनेछ ।
महानगरका अनुसार गत वर्षको तुलनामा यो वर्ष बढिमात्रामा चौपाया भित्रिने जनाएको छ । खसीबोका व्यवस्थापन समिति, ४ क्षेत्रका व्यापारी र सरोकारवालासँग छलफल गरी बिक्री केन्द्रलाई व्यवस्थित गर्ने तयारी समेत महानगरले गरेको छ । व्यापारीहरूलाई महानगरले खसीबोकालाई राख्ने स्थान सफा राख्न निर्देशन दिएको छ ।
गत वर्ष महानगरले ४ स्थानमा करिब ६० हजार खसीबोकाको स्वास्थ्य परीक्षण गरेको थियो भने करिब ४ सयको हाराहारीमा अस्वस्थ खसीबोकाको सिङमा रातो रङ लगाई खान अयोग्य घोषित गरेको थियो ।