Logo

अत्याधुनिक पुस्तकालयको विकास गर्नुपर्छ : सभामुख महरा



काठमाडौँ, ८ असोज / सभामुख कृष्णबहादुर महराले मुलुकमा दक्ष र शैक्षिक जनशक्ति उत्पादनका लागि शैक्षिक संस्थाका अतिरिक्त अत्याधुनिक पुस्तकालयको विकास गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको १५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सभामुख महराले पठन संस्कृतिको विकासका लागि, विश्व इतिहास, ज्ञान विज्ञान तथा समाजमा भइरहेका घटनाका बारे सूचना लिनका लागि पुस्तकालयको महत्व हुने बताउनुभयो ।

पुस्तकालयले अध्ययन गर्न चाहने तर पुस्तकको पहुँच नभएका वर्गलाई विशेष लाभान्वित गर्ने बताउँदै उहाँले यसको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पूर्वमन्त्रीद्वय याङ्कीला शेर्पा र गणेश साहले सर्वसाधारण नागरिकको चेतनाको स्तर वृद्धि गर्न पुस्तकालयको खाँचो रहेको औँल्याउँदै देशमा सार्वजनिक पुस्तकालयको विकासमा सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पुस्तकालय समन्वय शाखा प्रमुख यादवचन्द्र निरौलाले स्थानीय, प्रदेश तहमा पुस्तकालयको विकास गर्ने सरकारको नीति रहेको बताउँदै प्रदेश ५ मा पुस्तकालय मेला सम्पन्न गरिएको जानकारी दिनुभयो ।

उक्त पुस्तकालयका अध्यक्ष डा नारायण खड्काले देशको समग्र विकासका लागि सामाजिक तथा आर्थिक रुपान्तरण जरुरी रहेको त्यसका लागि शिक्षाको स्तर वृद्धि गर्नुपर्नेमा जोड दिँदै पुस्तकालयमा पुस्तक उपहार दिन चाहने धेरै संस्था भएको भए पनि स्थान अभावका कारण समस्या भएको जानकारी गराउनुभयो । सन् २००३ मा भृकुटीमण्डपमा स्थापना भएको उक्त पुस्तकालयमा दैनिक ३०० पाठक आउने गरेको बताइएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्