चितवन । तेजाब छर्किएर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते एक युवतीको भरतपुर अस्पतालमा शल्यक्रिया गरिएको छ ।
कावासोती नगरपालिका–१६ डण्डा बजारकी २७ वर्षीया वसन्ती परियारलाई छिमेकी युवकले सोमबार साँझ तेजाब छर्किएर धारितो हतियार प्रहार गरेका थिए । अस्पतालका वरिष्ठ सर्जन डा सुरेश प्रधानका अनुसार राति चार घण्टा लगाएर परियारको शल्यक्रिया गरिएको हो ।
प्रधानका अनुसार परियारको पेटमा हतियारले काटेर आन्द्रा बाहिर निस्किएको थियो । छातीमा करङ छेडिएको थियो । दुवैतिरको गाला र टाउकोमा गम्भीर चोट लागेको छ ।
चिकित्सक समूहले पेट, छाती, दुवै गाला र टाउकोमा शल्यक्रिया गरेको छ । परियारको अनुहार घाँटी, छाती र दुवै हातमा तेजाबले पोलेको छ । प्रधानका अनुसार एउटा आँखामा गम्भीर असर देखिन्छ भने अर्को सामान्य अवस्थामा छ ।
उनलाई अस्पतालको सघन उपचार कक्षमा राखिएको छ । अवस्था गम्भीर रहेको प्रधानले जानकारी गराए। परियार राति ८ बजे तरकारी किनेर घर फर्कने क्रममा छिमेकी ३७ वर्षीय विमल सिर्पालीले तेजाब छर्किएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार तेजाब छर्केर आक्रमण गर्ने सिर्पाली नेपाली सेनाका भगौडा सैनिक हुन् । उनलाई तत्काल प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका उनले बिहे गर्न अस्वीकार गरेपछि आक्रमण गरेको प्रारम्भिक बयान दिएको लामिछानेले बताए। विदेशमा रहेका उनी निज परियारसँग बिहे गर्ने भन्दै घर फर्किएको जनाइएको छ ।
परियारसँगको उनको सम्बन्धका कारण श्रीमतीले सम्बन्धबिच्छेदको मुद्दा दर्ता गरी माइतमा बस्दै आएको प्रहरीले जनाएको छ । माइतमा बस्दै आएकी श्रीमतीको चार वर्षको बच्चा रहेको छ ।
घाइते परियारको विदेशमा रहेका श्रीमान् फर्किएलगत्तै निज सिर्पालीसँगको सम्बन्ध तोड्न खोजेपछि घटना भएको प्रहरीले जनाएको छ । परियारको ११ वर्षीया छोरी रहेको लामिछानेले बताए । उनीहरु छिमेकी हुन् ।