Logo

दशैँमा घर जान टिकट लिनेको घुइँचो- फोटोफिचर



काठमाडौँ । नेपालीको महान् चाड दशैँमा घर जानका लागि टिकट लिनेको घुइँचो लागेको छ । दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि गोँगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो लागेको हो ।

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत भदौ ३१ गते असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि यातायात व्यवसायीले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै टिकट खुलाउन मानेपछि आजबाट टिकट बुकिङ खुलेको हो ।

कम्पनी र प्रालिले सरकारले घोषणा गरेको असोज ५ देखि नै टिकट बुकिङ खुला गरे पनि समितिले भने पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गरेर अग्रिम टिकट बुकिङ खुलाएका थिएनन् ।

स्वर्गद्धारी यातायात व्यवसायी सङ्घ प्यूठान, जलजला यातायात रोल्पा, राप्ती अञ्चल व्यवसायी सङ्घ दाङ, बडीमालिका यातायात धनगढी, बटालियन यातायात प्रालि रुकुम, मेची अग्नी यातायात, आयुष यातायात प्रालिलगायतले असोज ५ गतेदेखि नै अग्रिम टिकट बुकिङ खोलेका थिए ।

यस्तै, भेरी अञ्चल व्यवसायी सङ्घ नेपालगञ्ज, कर्णाली रिभर यातायात सङ्घ, महाकाली सेती यातायात व्यवसायी सङ्घ महेन्द्रनगर, सूदुरपश्चिम यातायात व्यवसायी सङ्घ, मध्यपश्चिम यातायात व्यवसायी सङ्घ, पश्चिम नेपाल यातायात व्यवसायी सङ्घ, पृथ्वी राजमार्ग बस सञ्चालक समिति, भेरी राप्ती यातायात व्यवसायी सङ्घलगायतले असोज ५ मा टिकट बुकिङ खोल्न मानेका थिएनन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिअनुरुप सार्वजनिक यातायातको भाडादर समायोजन भएपछि आजदेखि टिकट बुकिङ खुला गरेको बताउनुहुन्छ ।

आज डँडेल्धुरा, बाजुरा, बझाङ, कैलाली, धनगढी, महेन्द्रनगर, दार्चुला, झापा, मोरङ, सुनसरी, ताप्लेजुङलगायत लामो दूरीमा चल्ने बसको टिकट वितरण भएको हो ।

नयाँ बसपार्कको सुरक्षा बढाइयो

दशैँ शुरु भएसँगै नयाँ बसपार्क क्षेत्रको सुरक्षा बढाइएको छ । नेपालको एक मात्र राष्ट्रिय बसपार्कबाट दशैँका लागि लाखौँ मानिस बाहिरिने भएकाले सो क्षेत्रको सुरक्षा बढाइएको हो ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख एवं प्रहरी निरीक्षक मोहनविक्रम केसी दशैँको सुरक्षाका लागि थप जनशक्ति माग गरिएको बताउनुहुन्छ । “दशैँमा आपराधिक गतिविधि नहोस् भन्नका लागि दशैँ सुरक्षा योजनासमेत तयार गरिसकेका छौँ”, उहाँ भन्नुहुन्छ । फोटोः मुकुन्द कालीकोटे



प्रतिक्रिया दिनुहोस्