इटहरी, ९ असोज । पत्रकार ऋषि धमलाको प्रस्तुतीमा बनेको चलचित्र ‘अनुराग’ को टिम प्रचार–प्रसारको लागि इटहरी आएको छ ।
इटहरीस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गदै चलचित्रका नायक समुन्द्र पण्डित र नायिका एलिजा गौतमले असोज १२ गते चलचित्र हेर्न आग्रह गरेका छन् ।
चलचित्र साँगितिक प्रेमकथामा आधारित रहेको नायिका एलिजाले जानकारी दिईन् । अनु र रागको दुई पात्रले चलचित्रमा मुख्य चरित्र निर्वाह गरेको उनले बताईन् । नेपालका बिभिन्न रमणीय स्थलमा छायाँकंन गरिएको चलचित्रमा सबै कलाकारहरुले मेहनत राम्रो गरेकाले नतिजा पनि राम्रो हुनेमा आफु आशावादी रहेको गौतमले बताईन् ।
यस्तै नायक पण्डितले पनि चलचित्र उत्कृष्ट बनेको बताए । ‘राम्रो लगानीमा बनेको चलचित्रले राम्रो प्रतिफल आउनेमा हामी आशावादी छौ’–उनले भने । देशभर प्रचार प्रसारलाई तिव्र बनाउदै पूर्वमा पनि चलचित्रको प्रमोशनको लागि आज इटहरी आएको पण्डितले जानकारी दिए ।
चलचित्रलाई सत्यराज चौंलागाईंले निर्देशन गरेका छन् । अनुरागमा भरत गौतम र गीता भेटवालको लगानी रहेको छ । ठिलेन लामा, राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत, शिशिर राणा, मोहन निरौलालगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी छ । किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायाँकन रहेको छ ।