Logo

बार काउन्सिलमा महतो र कार्की मनोनित



काठमाडौँ, ९ असोज । नेपाल बार एशोसिएसनले नेपाल कानुन व्यवसायी परिषद् (बार काउन्सिल) को सदस्यमा बरिष्ठ अधिवक्ता अनिरुद्र महतो र अधिवक्ता केदार कार्कीलाई मनोनित गरेको छ ।

नेपाल बार एशोसिएसनका सचिव ईन्द्र अधिकारीले नेपाल कानुन व्यवसायी परिषद् ऐन २०५० को व्यवस्थाबमोजिम दुई वर्षे कार्यकालका लागि महतो र कार्कीलाई बार काउन्सिलमा मनोनित गरिएको जानकारी दिए ।

महान्यायाधिवक्ता पदेन अध्यक्ष, नेपाल बार एशोसिएसनको अध्यक्ष पदेन उपाध्यक्ष, सर्वोच्च अदालतको रजिष्ट्रार र त्रिवि कानुन संकायको डीन पदेन पार्षद्(सदस्य) रहने परिषद्मा पाँच जना पार्षद् निर्वाचित भएर आउने र दुई जना पार्षद् दुई वर्षे कार्यावधिका लागि नेपाल बार एशोसिएसनले मनोनित गर्ने व्यवस्था रहेको छ ।

परिषदमा ११ पार्षद् हुन्छन् । निर्वाचित र मनोनित हुने पार्षद् कम्तिमा १० वर्ष कानुन व्यवसायको काम गरिसकेको व्यवसायिक अनुभवप्राप्त बरिष्ठ अधिवक्ता वा अधिवक्ता हुनुपर्ने अनिवार्यता छ ।

महतो रौतहटका कानुन व्यवसायी हुन् भने कार्की काठमाडौं जिल्ला अदालत बार एशोसिएसनको दुई कार्यकाल अध्यक्ष र नेपाल बार एशोसिएसनको केन्द्रीय सदस्य हुँदै लामोसामयदेखि निरन्तर कानुन व्यवसायमा सक्रिय रहेका छन् ।

कानुन व्यवसायी परिषद्ले कानुन व्यवसायमा प्रवेश गर्नेहरुको परीक्षा लिने, कानुन व्यवसायीमा नाम दर्ता गर्ने, वकिलहरुलाई लाईसेन्स प्रदान गर्ने, व्यवसायिक आचारसंहिता निर्धारण गर्ने, तोकिएको व्यवसायिक आचारसंहिता अनुरुप कानुन व्यवसायीले काम गरे नगरेको अनुगम नगर्ने, व्यवसायिक आचरण विरुद्ध गरेको कार्यसम्बन्धी उजूरी लिने र अनुशासनको कारवाही र सजाय गर्ने, कानुन व्यवसायीहरुको अभिलेख अद्यावधिक राख्ने, व्यवसायलाई गरिमामय बनाउन आवश्यक प्रशिक्षण तथा तालिमको व्यवस्था गर्ने, कानुन व्यवसायीको इज्जत, प्रतिष्ठा, सुरक्षा, हकहिततथा सुविधाको संरक्षण गर्ने, स्तरीय कानुनीशिक्षालाई प्रोत्साहन दिन कानुन व्यवसायको लागि उपयुक्त शैक्षिक मापदण्ड सिफारिस गर्ने लगायतका कार्य गर्दछ ।

कानुन व्यवसायीहरुको हकहितको संरक्षण गरी समाजप्रति बढी जिम्मेवारीपूर्ण सेवा सञ्चालन गर्न र व्यवस्था गर्न नेपाल कानुन व्यवसायी परिषद्को स्थापना भएको हो ।



प्रतिक्रिया दिनुहोस्